Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नोट पाइएन ? यसरी दिनुस् डिजिटल दक्षिणा !

अर्थ संसार

सोमबार, १० कार्तिक २०७७, ०६ : ०० मा प्रकाशित

नयाँ नोट पाइएन ? यसरी दिनुस् डिजिटल दक्षिणा !

सरस्वती अधिकारी, काठमाडौं - दशैँमा ठूलाको हातबाट टिका लगाइन्छ, आर्शिर्वादका साथै गच्छेअनुसार दक्षिणा लिनेदिने प्रचलन छ । त्यो पनि कटकट परेका नयाँ नोट ! नेपाल राष्ट्र बैंकले  हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएकोमा यस वर्ष भने वितरण गरेको छैन । दशैंमा नयाँ नोट नै दक्षिणा दिनु पर्छ भन्ने प्रचलन रहिआए पनि यस वर्ष भने त्यो असम्भव बनेको छ ।

यस वर्षको दशैँ नयाँ नोटबिहिन बनेको छ । कारण हो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) । गत डिसेम्बरमा छिमेकी मुलुक चीनको वुहानबाट फैलिएको कोरोना भाइरस यतिबेला विश्वव्यापी महामारीको रुपमा फैलिरहेको छ । विश्वका २ सयभन्दा बढी देशमा फैलिएको यो भाइरसका कारण विश्वभर ४ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने १ लाख ४९ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । पछिल्लो समय नेपालमा पनि यसको प्रकोप भयावह हुँदै गइरहेको छ । नेपालमा मात्र यसबाट १ लाख ५० हजारभन्दा बढी संक्रमित भैसकेको अवस्था छ । यसबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै व्यक्तिगत सावधानी हो । किनभने आजसम्म यसविरुद्धको कुनै भ्याक्सिन पत्ता लाग्न सकेको छैन । यो भाइरसबाट बच्ने सिमित उपायहरु मात्र छ हामीसँग । भौतिक दूरी (सामाजिक दूरी) कायम गर्नु, अनिवार्य मास्क लगाउनु, नियमित रुपमा साबुन पानीले हात धुनु नै कोरोना भाइरसबाट बच्ने मुख्य उपाय हुन ।

कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोखिम बढ्न सक्ने सक्ने भन्दै यो वर्ष राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने निर्णय गरेको हो । जसले गर्दा दशैँमा नयाँ नोट नै दक्षिणा दिनुपर्छ भन्ने प्रचलन खण्डित हुन पुगेको छ । तर यसले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नेछ । 

यसै अवसर पारी बैंक तथा वित्तीय संस्थाहरुले भने डिजिटल दक्षिणा अफर सार्वजनिक गरेका छन् । चाडहरुलाई नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका लागि बैंकहरुले यस्तो योजना ल्याएका हुन् ।यसरी माेवाइलबाटै दक्षिणा दिँदा क्यास ब्याक(नगद फिर्ता) समेत पाउने छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
 
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले 'डिजिटल दक्षिणा दिऊँ, क्यास व्याक लिऊँ' योजना ल्याएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत दशैँमा दक्षिणा पठाउँदा २५५ रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्नेछन् ।
बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंकाे टिकादेखि द्वादशीसम्म तीन पटक गरी ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा विवरणमा भने “दक्षिणा” भनी खुलाउनु पर्ने छ । महान चाड दशैलाई लक्षित गरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र  कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

एनआईसी एशिया बैंक लिमिटेड 

त्यसैगरी एनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद भन्दै आफ्ना ग्राहकहरूलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ । बैंकले दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (MoBank) मार्फत प्रदान गरेको दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ । यो योजना बैंकमा आबद्ध ग्राहकहरूलाई टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले MoBank एपमा रहेको Digital Dakshina मा ट्याप गरी आफूले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा Dakshina जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

बैंक अफ काठमाण्डू लिमिटेड

यस्तै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । 
बैंकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा व्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गरेको छ । बडा दशैँमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंकले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । 
साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तिन पटक भिन्न-भिन्न व्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार रुपैयाँ वा सोभन्दा बढि भएमा ३ सय रुपैयाँ नगद उपहार लागि ग्राहकहरु योग्य हुनेछन् । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरुलाई दक्षिणा दिँदा यस बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन समेत बैंकले अनुरोध गरेको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड 

माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई बैंकले आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ। कोभिड १९ को जोखिममा नगद रहित कारोबारलाई जोड दिँदै बैंकले यस्तो योजना ल्याएको जानकारी दिएको छ। दशैंमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै बैंकले ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो।
विजया दशमीको दिनदेखि पूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ एप माछापुच्छ्रे मोवाइल मनीमार्फत जुनसुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ। क्यासव्याक प्राप्त गर्न ग्रांहकले पैसा ट्रान्सफर गर्दा प्राइम कोडमा 'DAKSHINA' लेख्नु पर्नेछ । 

कनेक्ट आइपिएस

डिजिटल भुक्तानी प्लेटफर्म कनेक्ट आइपिएसले पनि अनलाईनमार्फत दक्षिणा दिन यसका प्रयाेगकर्तालाई आग्रह गरिरहेकाे छ। कनेक्ट आइपिएसकाे वेव वा माेवाइल एपमा रहेकाे दक्षिणा ट्यावबाट दक्षिणा पठाउँदा हरेक दिन १० जना प्रयाेगकर्ताले १ हजार रूपैयाँकाे गिफ्ट भाैचर जित्ने अबसर  प्राप्त गर्ने छन् ।  यस्ताे अबफर कात्तिक १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ ।
यीबाहेको अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि यस्तो योजना ल्याएका छन् । बैंकहरुको यो योजनाले नगरहित डिजिटल कारोबार प्रोत्साहन गर्नेछ । बैंकहरुको यो योजनाले आगामी दिनमा नयाँ नोट छाप्न हरेक बर्ष मुलुककाे ढुकटीबाट खर्च हुने अर्बौं रकम समेत बचाउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको