सरस्वती अधिकारी, काठमाडौं - आज दशैँको दशौँ दिन अर्थात् विजया दशमी । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने नेपालीहरुको महान पर्व दशैँ अर्थात् विजया दशमीको दशौँ दिन मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर मनाइन्छ । नवरात्रभर शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गर्ने गरिन्छ ।
यसवर्षको दशैँ कात्तिक १ गते शनिबारदेखि शुरु भएको हो । पहिलाे दिन दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखि नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
क्रमसः दोस्रो दिन ब्रह्मचारिणी देवीलाई विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो । यस्तै चौथो दिन कुष्माण्डा देवी, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी देवी, सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । त्यसैगरी नवरात्रीकाे आठौँ दिन महागौरी देवी र नवौं दिन सिद्धिदात्री देवीको विशेष पूजा आराधना गरिएको थियो ।
आज विजयादशमीको दिन भने मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरी हर्षोल्लासका साथ यस वर्षको दशैँ मनाइँदैछ । यस वर्षको टिकाको उत्तम साइत बिहान १०ः१९बजे रहेको थियो । यद्यपि विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिनेछ । नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने प्रचलन रहेको छ । यस पर्वको मुख्य दिन दशौँ दिन अर्थ विजयादशमीको दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका भन्ने किंवदन्ती रहेको छ । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो ।
मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद ग्रहण गर्नु, मिठो खानु, राम्रो लाउनु, सबै परिवार एकैठाउँमा भेला हुनु, वर्षभरीको दुख पिर बिर्षेर रमाउनु दशैँका प्रमुख विशेषता हुन् । अझ भुइँ छोड्नुपर्छ भन्ने प्रचलन छ । दशैँको दिन सबै आफन्त एकैठाउँमा भेला भएर दुर्गा भवानीको प्रसाद ग्रहण गरेपछि गाउँभरीका मान्छे एकै ठाउँमा जम्मा भएर पिङ खेल्नुको मज्जा नै बेग्लै छ । यो मौका दशैँ बाहेक अरु बेला कहाँ मिल्छ र ? गाउँभरीका मानिस मिलेर बाँसको लिंगा खोज्नु, बाबियो बाटेर सबैलाई पायक पर्ने ठाउँमा पिङ हाल्नु र पिङमा क्षितिज नै छोऔंला झैँ गरी मच्चिनुको मज्जा वर्णनका पानामा कहाँ हुन्छ र ? केटाकेटीदेखि वृद्धवृद्धासम्म सबैलाई एकैठाउँमा जोड्ने दशैँमा खुशीको सिमाना नै रहन्न । अझ त्यसैमाथि वर्षौंदेखि छुटिएकाहरु एकै ठाउँमा भेला हुँदा त खुशी कति हो कत्ति । गाउँ विर्षेकाहरुलाई पनि फेरी एकपटक गाउँको सम्झना गराउँछ दशैँले ।
तर यस वर्ष भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अलिक खल्लो भएको छ । यो दशैँ सदाभन्दा अलिक बेग्लै बनेको छ । परदेशिएकाहरु घरदेश फिर्न सकेका छैनन् । पोहोर दशैँमा अर्को साल आउँछु आमा भनेर फोन गर्नेहरु यो वर्ष नि त्यस्तै भो आमा भन्नुको विकल्प खोज्न सकेका छैनन् । त्यतिमात्र कहाँ होर आफ्नो भविष्य उज्ज्वल पार्न शहर छिरेका सयौं छोराछोरी पनि यस वर्ष गाउँ फिर्न सकेका छैनन् । यो रहर होइन बाध्यता हो । त्यसमाथि कोरोनाबाट संक्रमित हुन पुगेकाहरुको लागि पनि यो दश खल्लो बनेको छ । यी सबैका बाबजुद पनि यहि वर्ष रमाइलो गर्नुपर्छ अर्कोसाल के हो के हो ? भन्नेहरुको पनि छुट्टै जमात छ । निधारभरी अक्षता, शिरमा जमरा, मुहारमा बेग्लै हाँसो अनि उत्साह । कोहि वर्षदिनपछि मामाघर जान पाएको खुसि साट्दै, कोहि छन् त कोहि वर्षौंदेखि छुट्टीएकाहरु भेट्नुको खुशी साट्नमै व्यस्त छन् । अनि कोहि क्षितिज छुने सपना बोकेर पिङको लट्ठा समाउनैमा व्यस्त ... ! विजयादशमीको सबैजनालाई शुभकामना !
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस