Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ: राम्रो लगाउने, मिठो खाने चाड

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०७७, ०७ : ४४ मा प्रकाशित

दशैँ: राम्रो लगाउने, मिठो खाने चाड

लीलानाथ घिमिरे, काठमाडौं - बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सानो छदा दशैंमा नयाँ लुगा लगाएर मिठो खाँदै दशैं मनाएको अझै याद छ । दशैंका बेला नयाँ कपडा किनिन्थ्यो । त्यतिखेर रेडिमेड कपडा पाइंदैनथ्यो । सिलाएर मात्र कपडा लगाउन पाइन्थ्यो । ‘दर्जीलाई लुगा सिलाउन दिएपछि कपडा काटेको, मेसिनमा धागो हालेको, सिलाएको, टाक लगाएको सबै हेरेर बस्थ्यौं, उनी सम्झन्छन्, ‘कहिले आज सकिएन भनेर दर्जीले लुगा थन्क्याउथ्यो । हामी अमिलो मन लिएर घर फर्कन्थ्यौं । नयाँ लुगा लिन दर्जीकहाँ जान बिहान कहिले होला भनेर बस्थ्यौं ।’

यी वरिष्ठ व्यक्तित्वको दशैंको सम्झना पुरानो भएको छ । दशैंले नयाँ लुगा लगाउने चाडको रुपमा आफ्नो पहिचान भने मेटिन दिएको छैन । ब्यवसायी रुद्र न्यौपाने दशैंलाई मध्यम र निम्न बर्षिय उपभोक्ताले नयाँ लगाउने चाडका रुपमा अध्यापी मनाइरहेको बताउँछन्। ‘म आफूलाई चाहिएको कपडा जुनसुकै बेला किन्छु, उनले सुनाए, दशैंमा घर जादा बुबाले एक सरो कपडाको ब्यवस्था हरेक बर्ष गरिदिनु हुन्छ ।’ दशैंमा हरेक अभिभावले आफ्ना परिवारका सदस्यलाई एकसरो कपडा किनिदिने उनी सुनाउछन् । उनको अनुभवमा दशैंको चिनारी पहिलो राम्रो लगाउने, दोस्रो मिठो खाने र तेस्रो मनोरंजन गर्ने चाडका रुपमा छ । 

नेपालीहरुले मनाउने सबैभन्दा ठूलो चाड दशैं घरमा भित्रेको छ । कोरोनाको कहरले मुलुकको अर्थतन्त्र थला परेका बेला थोरै मात्रामा भए पनि मुलुकको अर्थतन्त्रले गति लिएको छ । लामो विदा पाउने चाडको तयारी गच्चे अनुसार सबैकको घरमा भइरहेको छ । कामकाजीले यही बेला दशैं मनाउन तलवका अतिरिक्त एक महिनाबराबरको थप रकम हात पारेका÷पार्दै छन् । सरकारी कार्यालयमा कार्यरत करिव ५ लाख कर्मचारीले झण्डै अर्वौँ रुपैया दशैं खर्च हात पार्छन् । यस्तै सार्वजनिक सस्थान, पब्लिक लिमिटेड, ब्यापारीक प्रतिष्ठानलगायतमा कार्यरत कर्मचारीको समेत हिसाव गर्दा दशैंमा खर्च गर्न योग्य रकम झण्डै २० अर्वभन्दा बढी हुने अनुमान छ । सेवा निबृत्त कर्मचारीले समेत आफूले खाइपाइ आएको पेन्सनमा थप एक महिना बराबरको तलब पाउछन् । यस अतिरिक्त विदेशमा रहेका आफन्तले दशैं खर्चका लागि भनेर ठूलो रकम रेमिटान्स पठाउछन् । त्यसको ठूलो अंश दशैंमा नया लुगा किन्न र खानपानका लागि खर्च हुने गरेको छ ।

गर्मी सकिएर जाडोको सिजन सुरु हुने बेला उसै त दशैंमा न्याना लुगाको माग हुन्छ । त्यसमा पनि राम्रो लगाएर मावली, ससुराली, माइत, आफन्तकहाँ जाने प्रचलन भएकाले यतिखेर कपडा किन्नेहरुको बजारमा घुइचो लागेको छ । चिनबाट सस्तोमा तयारी कपडा आउन थालेपछि नयाँ कपडा सर्बसाधारणको पहुँचमा पुगेको छ । पहिले दशैं मनाउने बेला परिवारका सदस्यलाई एक सरो नयाँ लुगा हाली दिन ठूलै रकम रिण खोज्नु पर्नेहरुका लागि अहिले सस्तैमा दशैं टार्न सकिने भएको बताउँ छन । दशैंमा धेरै विकाउन ब्यापारीले केही सस्तोमा कपडा बेच्ने भएकाले समेत सर्बसाधारणले राहत पाएका छन् । 

राजधानीका सडक पेटी, खुल्ला मञ्च सस्ता कपडाका बजारले भरिएका छन् । खुल्ला मञ्चमा छोराछोरीका लागि कपडा छान्दै गर्दा भेटिएकी सिन्धुपाल्चोककी बिमला तामाङले परिवारका सबै सदस्यलाई एक सरो कपडा किन्दा ४ हजार रुपैया खर्च भएको सुनाइन् । ‘उपचार गर्न राजधानी आउदा दशैंले छोप्यो, उनले भनिन्, यही मौकामा लागेको बजारमा सस्तैमा कपडा किन्न पाए ।’ कोरोनाको त्रासवीच फुटपाथमा कपडाको बजार लागेकको छ । तामांगलाई कपडा बेच्ने सिन्धुलीका हिरामणि भण्डारीलाई पनि केही दिन पसल थापेर कमाएको पैसाले परिवारका सदस्यलाई नयाँ लुगा फेरि दिनु छ । ‘दुइ÷चार दिन ब्यापार गर्दा दशैं खर्च उक्सिने आस छ, उनले भने ।

दशैंलाई मिठो खाने चाडका रुपमा समेत लिइन्छ । मकै, कोदो मात्र फल्ने पहाडी भेगमा दशैंका लागि चामलको जाहो गर्ने चलन परापूर्व कालदेखि चलेको लामोसमय दोलखाको दुर्गम गाउमा विताएर केही बर्षदेखि भक्तपुरको कौसलटारमा बस्दै आएका ८० बर्षिय हितराम पौडेलले सुनाए । ‘दशैंमा मासुसँग चामलको भात खान महिनौ अगाडिदेखि पर्खन्थ्यौं, उनले भने, चामल बेसाउन एक दिनको बाटो चरिकोटसम्म आइन्थ्यो ।’ समय फेरिएको छ । कर्णालीका दुर्गम जिल्लाहरुमा समेत खाध्य संस्थानले सरकारे ढुवानी अनुदानमा चामल पु¥याउँछ । यसले गर्दा पहाडी भेगका बासिन्दाले पनि चामलकै भात खाएर दशैं मनाउन पाउछन् । 

दशैंले मासु खाने चाडका रुपमा दशैंले प्रख्याती कमाएको छ । त्यसैले यो बेला खसीबोका, राँगा, भेडाको माग धेरै हुन्छ । दशैंमा मात्रै १ लाखभन्दा बढी खसीबोका काटिने अनुमान छ । आफ्नो गच्छेअनुसार सानै भए पनि घरमा सिंगै खसी काट्ने चलन अधिकांशको घरमा छ । मुलुक खसीबोकामा आत्मनिर्भर छैन । दशैका बेला धेरै माग हुने भएकाले भारतबाट ठूलो परिमाणमा खसीबोका भित्रयाइन्छ । सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले दशैंका बेला खसीबोका बेच्छ । चिनबाट समेत ठूलो परिमाणमा भेडाच्यांग्रा भित्रिने गरेकोमा यसपाली कोरोनाले खासै भित्रिएको छैन । ‘अरु बेला हामी मासु त्यति खादैनौ, घर फर्कन टिकट लिन गौसलास्थित काउन्टरमा पुगेका विराटनगरका हरि गौतमले सुनाए, दशैंका लागि भने सिंगो खसीको ब्यवस्था छ । छिमेकीले सिंगै काट्दा आफू मासु खोज्न हिड्नु भएन नि ? मासुसगै मदिरासमेत दशैंमा ठूलो परिमाणमा खपत हुन्छ ।  
दशैंमा फलफुलको माग त्यतिकै छ । सामान्य दिनमा दैनिक ३ करोडको कारोबार हुने फलफूलको माग दोब्बरभन्दा बढीले बढेको ब्यवसायी बताउछन् । साकाहारीले दशैंमा फलफूल बढी रुचाउँछन् । टिका लगाउन जानेहरुले समेत ‘हातको सौगात’ का रुपमा फलफूल लैजाने गरेका छन् । स्याउ, केरा, मौसम,मेवालगायतका फलफूल दशैंमा धेरै बिक्ने बल्खुस्थित फलफूल थोक बजारका एक ब्यापारीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको