Like us!
Follow us!
Connect us!
Watch us!

१ सय बढी तेल ट्याँकरमा आगलागी, लाखौं डलर बराबरको क्षति

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १४ : १६ मा प्रकाशित

१ सय बढी तेल ट्याँकरमा आगलागी, लाखौं डलर बराबरको क्षति

इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको थियो । आगो नियन्त्रणमा ल्याइए पनि उक्त घटनाको छानबिन र अनुसन्धान शुरु भइसकेको अधिकारीहरुले बताएका छन् ।

हेरात प्रान्तका गभर्नरका प्रवक्ता जैलानी फरहादले आगलागीबाट १०० वा २०० ट्याँकर ध्वस्त भएको खबर प्राप्त भएको जनाउँदै आगलागीबाट सोचेभन्दा बढी नोक्सानी भएको बताए । उनले घटनाको अनुसन्धानबाट मात्र यथार्थ विवरण प्राप्त हुनसक्ने जानकारी दिए । 

उनले उक्त आगलागीका कारण करिब २० व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको पनि बताए ।

सामाजिक सञ्जालमा राखिएका भिडियो फुटेजमा आकाशमा धुँवाको ठूलो मुस्लो देखिएको छ । 

त्यस्तै, अफगान अर्थ मन्त्रालयले आगलागीबाट ठूलै आर्थिक क्षति भएको जनाउँदै इन्धन, ट्याँकर र भन्सार कार्यालयहरुमा क्षति पुगेको बताएको छ । 

हेरात चेम्बर अफ कमर्शका प्रमुख युनुस क्वाजी जादाले प्रारम्भिक विवरणमा दशौं लाख डलर बराबरको क्षति पुगेको बताए । हेरात प्रान्तका धेरैजसो स्थानमा आइतबार विद्युत आपूर्ति अबरुद्ध भएको थियो । 

इस्लाम क्वाला अफगानिस्तानको एउटा महत्वपूर्ण व्यापारिक नाका हो । यस नाकाबाट इरानसँगको अधिकांश व्यापारिक कारोबार हुने गर्दछ । 

अमेरिकी प्रतिबन्धका बाबजुद इरानबाट तेल र ग्यास आयात गर्न अमेरिकाले अफगानिस्तानलाई छुट दिएको छ । 

इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खाटीबजादेहले आगलागीको घटना हुँदा इरानतर्फको सीमालाई केही समय खुला गर्नु परेको जानकारी दिए । 

दुबै मुलुकका अग्निनियन्त्रकलाई तत्काल परिचालन गरिएका पनि उनले बताए । 
त्यसैगरी, उनले आगलागीको घटना भएलगत्तै नजिकैको सुरक्षा जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको