Like us!
Follow us!
Connect us!
Watch us!

कहिले जोडिन्छ राष्ट्रिय सडक सञ्जालमा हुम्ला ?

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, १४ : ४९ मा प्रकाशित

कहिले जोडिन्छ राष्ट्रिय सडक सञ्जालमा हुम्ला ?

सडक सञ्जालसँग जोडिन बाँकी रहेको देशको एकमात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमकोट चालु आर्थिक वर्षमा पनि सडक सञ्जालमा नजोडिने भएको छ । 

सडक विभागका अनुसार अहिलेको गतिमा काम हुँदा सिमकोटमा सडक पुग्न अझ दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । कर्णाली करिडोरअन्तर्गत सो राजमार्गमा सडक विभाग र नेपाली सेना दुवैले निर्माणको काम गरिरहेको छ । सडक विभागले निर्माण गरिरहेको खण्डमा १६ किमी साधारण बाटो खन्न बाँकी रहेको विभागका उपमहानिर्देशक शिव नेपालले बताए । सो खण्डमा विभागले निर्माण गर्दा ढिलाइ भइरहेकाले सेनालाई नै निर्माण गर्न भनेको थियो । त्यसको टुङ्गो नलागेकाले अहिले विभागले नै सुस्त गतिमा काम गरिरहेको छ । विभागले निर्माण गर्दा पनि विष्फोटनको काम सेनाले गर्नुपर्ने भएकाले सेनालाई नै जिम्मेवारी दिन फाइल अघि बढाइएको उनले बताए । उनले भने, “रक्षा मन्त्रालयमा फाइल पठाएको भएपनि त्यसको टुङ्गो लागेको छैन ।” 

देशभरका ७७ जिल्लाका सदरमुकामध्ये एउटा सदरमुकाममा मात्रै सडक नपुगेकाले सिमकोटसम्म ट्रयाक खोलिसक्ने लक्ष्य लिइँदै आएको छ । सो स्थानमा खटिएका विभागका इञ्जिनीयरका अनुसार लक्ष्य लिइएको काम अझै दुई वर्ष पहिले सकिँदैन । पहाडी क्षेत्र त्यसमा पनि अत्यधिक चट्टान भएकाले त्यसलाई काट्दै लैजानुपर्ने अवस्था रहेको उपमहानिर्देशक नेपालले बताए । विष्फोटक पदार्थ सजिलो उपलब्ध नहुनु नै सिमकोटसम्म सडक पुर्याउन नसकिनुको मुख्य समस्याका रुपमा रहेको छ । नेपाली निर्माण व्यवसायीको क्षमता र कठिन भूगोलका कारण निर्माणमा ढिलाइ भइरहेको छ । उनले भने, “कणार्लीको नदी किनारैकिनार चट्टानी क्षेत्र हुँदै सडक अघि बढाउन गाह्रो काम छ ।”

कुनै पनि सडकमा चट्टान फोरेर निर्माण गर्नका लागि आवश्यक पर्ने विष्फोटक पदार्थ सेनाले उपलब्ध गराउने गर्छ । सो सडकमा आवश्यक सामग्री उपलब्ध गराउन सेनाको टुकडी निर्माणस्थलबाट टाढाटाढा रहेका छन् । त्यहाँबाट निर्माणस्थलसम्म सेनालाई ल्याउँदा ढिलाइ हुने उनले बताए । उनले भने, “निर्माणस्थलमा टुकडी  नराख्दासम्म निर्माणले गति लिँदैन ।” 

राजमार्गमा निर्माणसँगै सडक विस्तारको काम अघि बढाइएको छ । हिल्सादेखि सिमकोटसम्म ३५ किमी चौडा गर्ने काम भइरहेको छ । अहिले गर्न सकिने ठाउँमा विस्तार गर्ने र अप्ठेरो ठाउँमा पहिले ट्याक खोलिसकेर मात्रै सडक बिस्तार गर्ने योजना बनाइएको उपमहानिर्देशक नेपालले बताए । हिल्सादेखि सिमकोटसम्म ९० किमी सडक ट्याक खुलाइएको उनले बताए । सोही खण्डमा ४०० मिटर भने डिजाइनअनुसार खन्न नसकिएकाले चौडाइ कम छ र ग्रेड पनि नमिलेको उनको भनाइ छ । 

सो सडकमा बजेटको भने समस्या नभएको विभागले जनाएको छ । गत आवमा सो सडकका लागि छुट्टाइएको बजेट खर्च भएको थिएन । चालु आवमा पनि छुट्टाइएको बजेट खर्च भइसक्ने नदेखिएको उपमहानिर्देशक नेपालले जानकारी दिए । सडकमा जग्गाको समस्या आउने गरेपनि निर्माण नै रोकिने अवस्था छैन । 

सेनाले निर्माण गरेको स्थानमा ट्रयाक खोल्ने काम सकिनै लाग्दा विभागले निर्माण गरेको स्थानमा भने कहिलेसम्म खुलिसक्छ भन्नेमा विभाग प्रष्ट छैन । विभागले निर्माण गरेको ठाउँमा पनि विष्फोटक पदार्थ सेनासँग किनेर र उनीहरुकै सुरक्षामा निर्माणस्थलमा पुर्याउनुपर्छ । सेनासँगको सहकार्यमा काम गर्नुपर्ने भए पनि यो काम सेनाको प्राथमिकतामा त्यो काम नभएको उपमहानिर्देशक नेपालले बताए । अहिले निर्माणस्थलमा छुट्टै टुकडी व्यवस्था नभएर अरु काममा खटिएकालाई समय समयमा निर्माणस्थल लैजाने गरिएको छ । सेनालाई निर्माणस्थल लगेर केही दिन काम गरेर फर्कने र पुनः विभागले सो स्थानमा सफा गरेर अर्को पटक बोलाउने गरेको उनले बताए । उनले भने, “टाढाबाट धाएर जाँदा महिनामा दुईतीन पटकभन्दा विष्फोटन गर्न सकिएको छैन ।” 

सेनाले निर्माण गरिरहेको खुलालुदेखि सलिसल्ला १२३ किमी सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । सो सडक सेनाले चालु आवमा नै हस्तान्तरण गर्ने योजना बनाएको छ । सलिसल्लादेखि सिमकोटसम्म ५० किमी सडक निर्माण विभागले गरिरहेको छ । विभागले सलिसल्लाबाट सिमकोट र सिमकोटबाट सलिसल्लातर्फ गरी दुवैतर्फबाट काम गरिरहेको छ । विभागले ३४ किमी  ट्रयाक खोलिसकेर  बीचमा १६ किमी सडक खन्न बाँकी छ । ट्रयाक खोल्न बाँकी ठाउँ पूरै चट्टानी भाग नभएर कतै चट्टान र कतै सजलो जमिन छ तर बीचको सजिलो भागमा पुग्नु पहिले चट्टान फोरेर अघि बढ्नुपर्ने भएकाले धेरै क्षेत्र ट्रयाक खोल्न बाँकी रहेको उनले बताए । उनले भने, “बीच  बीचको सजिलो ठाउँमा पनि काम हुन सकिरहेको छैन ।”

राजमार्ग आठ मिटर चौडाइ कायम गर्ने गरी काम भइरहेको छ । पहिले ट्रयाक खालिसकेर चौडाइ बढाउन सकिने भएकाले अहिले धेरै ठाउँमा ट्रयाक खोल्ने काम पहिले भइरहेको विभागले जनाएको छ । राजमार्गमा कतिपय पुल निर्माणाधीन छ भने कतिपय डिजाइनको क्रममा छ । सडक ट्रयाक खुलेपछि पुलका लागि आवश्यक सामग्री पुर्याउन सकिने भएपनि अहिले पुल निर्माण गर्ने स्थानसम्म निर्माण सामग्री पुर्याउन गाह्रो भएको उपमहानिर्देशक नेपालले बताए । आवश्यक उपकरण बोकेर नसकिने र हेलिकप्टरबाट लैजाँदा खर्चिला हुने भएकाले निर्माण अघि बढ्न सकिरहेको छैन । सडक निर्माणमा आवश्यक इन्धन पहिले चीनबाटै ल्याउने गरिएको थियो । कोभिड–१९ का कारण अहिले भने इन्धन उताबाट ल्याउनसमेत समस्या भएको विभागले जनाएको छ । - रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको