Like us!
Follow us!
Connect us!
Watch us!

दैनिक १७ घण्टा लोडसेडिङ, एउटा मोबाइल चार्ज गरेको १०० रुपैयाँ !

पत्रपत्रिका

शनिबार, ०८ माघ २०७८, ०९ : ०६ मा प्रकाशित

दैनिक १७ घण्टा लोडसेडिङ, एउटा मोबाइल चार्ज गरेको १०० रुपैयाँ !

हुम्लाका व्यवसायीले लामो समयदेखि लोडसेडिङ खेप्दै आएका छन् । पानीको प्रवाह कम भएका कारण यहाँको हिल्दुम साना जलविद्युत् आयोजनाले पूर्ण क्षमताको विद्युत् उत्पादन गर्न नसक्दा व्यवसायीले लोडसेडिङको मार खेप्दै आएका हुन् । हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले पानीको स्रोत कमी भएकै कारण आयोजना २०६५ सालमा सञ्चालनमा आएदेखि लोडसेडिङ गर्नुपर्ने बाध्यता रहेको बताए ।

५०० किलोवाट उत्पादन गर्ने लक्ष्यका साथ उक्त आयोजना निर्माण भएको थियो । यसका लागि आयोजनाको पावर हाउसमा दुईवटा मेसिन जडान गरिएका छन् । ती दुवै मेसिनबाट पूर्ण रूपमा विद्युत् उत्पादन भने कहिल्यै भएन । बढी उत्पादन भएका बेला ३२० किलोबाट मात्र विद्युत् उत्पादन भएको उनले बताए । हाल आयोजनाले विद्युत् आपूर्ति गर्दै आएका सिमकोट र खार्पुनाथ गाउँपालिकामा एक मेगावाट विद्युत्को माग छ तर अहिले बढीमा २०० किलोवाट मात्र उत्पादन केन्द्रले गर्दै आएको छ । त्योसँगै उपभोक्ताले बढी विद्युतीय सामग्री प्रयोग गरेका कारण लोडसेडिङको समस्या भोग्नुपरेको उनको भनाइ छ । उत्पादन कम भएपछि केन्द्रले पानीको स्रोत हेरी दुईदेखि १७ घण्टासम्म लोडसेडिङ गर्दै आएको छ ।

हुम्लामा विद्युत्का दुई हजार १०० भन्दा बढी उपभोक्ता छन् । फर्निचर उद्योग सञ्चालक दशरथ रावतले लोडसेडिङको समस्या खेप्दै आएको बताए । लोडसेडिङको तालिकासमेत नआउने भएका कारण विद्युत् आपूर्ति हुने समय कुरेर उद्योगमा कामदारले काम गर्ने गरेको जानकारी उनले दिए । लोडसेडिङ भएको बेला काम बन्द गरेर कामदार बस्नुको विकल्पसमेत नभएको बताउँदै उनले उद्योगलाई लोडसेडिङले मार पारेको गुनासो गरे ।

यस्तै अर्का व्यवसायी सरोज रावतले २०६५ सालबाटै आफ्नो व्यवसायले लोडसेडिङ भोग्दै आएको बताए । उनले सुरुका दिनमा यो अवधिमा व्यवसाय बन्द गरे पनि पछि भने जेनेरेटर सञ्चालन गरेर काम गरेको जानकारी दिए । यसरी जेनेरेटरबाट व्यवसाय गर्दा उपभोक्तालाई मार पर्ने उनले बताए ।

यहाँका व्यवसायीले एकप्रति फोटोकपीको जलविद्युत्को प्रयोग गर्दा पाँच रुपियाँ र जेनेरेटरको प्रयोग गर्दा १० रुपियाँ लिने गरेका छन् ।

गत कात्तिक÷मङ्सिरमा विद्युत् सेवा अवरुद्ध हुँदा जेनेरेटरबाट मोबाइल चार्ज गरेको एउटा मोबाइलका लागि १०० रुपियाँ तिर्नुपरेको सेवाग्राही कलबहादुर रावलले बताउनुभयो । विद्युत्बाट उद्योग व्यवसाय सञ्चालन गर्ने सिमकोट र खार्पुनाथ गाउँपालिकामा ७० भन्दा बढी रहेका छन् । ती सबै उद्योगी व्यवसायीका लागि लोडसेडिङ साझा समस्या हो ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको