Like us!
Follow us!
Connect us!
Watch us!

नाम्खा गापाका अध्यक्ष भन्छन्- ‘मेरो क्षेत्रमा चीनले सीमा मिचेको छैन, अनावश्यक राजनीति गरियो’

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, १० : १४ मा प्रकाशित

नाम्खा गापाका अध्यक्ष भन्छन्- ‘मेरो क्षेत्रमा चीनले सीमा मिचेको छैन, अनावश्यक राजनीति गरियो’

हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको भनिएको विषयमा अध्ययन गर्न गृह मन्त्रालयको टोली सिमिकोट पुगेको बेला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने त्यसलाई अस्वीकार गरेका छन् । 

सीमा विवादका बारेमा परराष्ट्र मन्त्रालयले यसअघि नै प्रस्ट पारिसकेको जनाउँदै अध्यक्ष लामाले सरकार परिवर्तन पिच्छे सीमा विवाद ल्याएर कुटनीतिमा असर पारेको भन्दै असन्तुष्ट जाहेर गरेका छन् । 

‘मेरा गाउँपालिका भएकाले विवाद उठेपछि म आफैँ उपस्थित भएर स्थलगत अध्ययन गरेको थिएँ, त्यहाँ कुनै सीमा मिचिएको कतै पनि देखिएन,’ अध्यक्ष लामाले न्युज कारखानासँग भने, ‘तत्कालिन प्रजिअ र मसहित गएर अध्ययन गरेर सीमा नमिचिएको प्रतिवेदन सरकारलाई दिएका थियौं, त्यही प्रतिवेदन अनुसार परराष्ट्र मन्त्रालयले यसअघि नै धारणा बनाई सीमा नमिचिएको प्रस्ट पारिसकेको छ, अहिले फेरि विवाद निकालेको देख्दा अचम्म लागेको छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वमा हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । सो बारेमा अध्ययन गर्न आचार्यको नेतृत्वमा टोली शनिबार सिमिकोट पुगेको छ । यो टोलीमा गाउँपालिका अध्यक्ष लामा समावेश छैनन् ।

‘मेरै गाउँपालिकामा सीमा मिचिएको भन्दै अहिले गृह मन्त्रालयका सहसचिवको नेतृत्वकोे टोली सिमिकोट पुगेको छ, मलाई सहजीकरण गर्न अनुरोध गरियो तर मैले मिच्दै नमिचेको सीमामा अध्ययन गर्न किन जाने भनेर गइन,’ उनले भने, ‘सीमाजस्तो कुरा पनि सरकार फेरिए पिच्छे फरक(फरक हुन्छ र रु यस्तो गम्भीर विषयमा खेलाँची गरिरहने मिल्छ र रु ’

यसअघि नै सरकारले प्रस्ट पारिसकेका उल्लेख गर्दै अध्यक्ष लामाले सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

उनका अनुसार सन् १९६२ मा नेपाल र चिनियाँ दुबै पक्षबीच भएको सहमति अनुसारको भूमि नेपालतिर नै रहेको र चीनले आफ्नै भूमिमा संरचना निर्माण गरेको छ । ‘सन् १९६२ मा सीमाका बारेमा जुन सम्झौता भएको थियो, त्यो नक्सासँग दाँजेर अहिले हेर्दा पनि चीनले भूमि मिचेको अलिकति पनि देखिदैन,’ लामाले न्युज कारखानासँग भने, ‘तत्कालीन प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरि र मसहित गएको टोलीले अध्ययन गर्दा नमिचिएको देखेपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएका हौं ।’ 

उनका अनुसार नेपालका प्रजिअ र चिनियाँ पक्षबीच प्रत्येक वर्ष सीमा र सीमा सुरक्षाका बारेमा छलफल हुने गरे पनि कोभिड-१९ का महामारीका कारण त्यो छलफल दुई वर्षदेखि रोकिएको छ ।

उनका अनुसार नाम्खा गाउँपालिका(५ र ६ वडाका १२ नम्बर पिलर र त्यो भन्दा २७ किमी पर रहेको ११ नम्बर पिल्लरका बारेमा विवाद देखिए पनि स्थलगत अध्ययनमा त्यस्तो नभएको उनको दावी कायमै छ । ‘पानी ढलोलाई सीमा मानिएको छ, १९६२ को नक्सा र अहिलेको स्थान हेर्दा पनि कुनै फरक छैन, चीनले आफ्नै भूमिमा संरचना बनाएको छ,’ उनले अगाडि भने, ‘सरसर्ती हेर्दा र नक्सासँग जुधाउँदा कुनै विवाद गर्नुपर्ने देख्दिन तर सरकारको काम हो, गरेर केही प्रतिवेदन त देला ।’ 

-न्युन कारखाना

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको