Like us!
Follow us!
Connect us!
Watch us!

कोटेश्वर-जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने, ट्राफिक जाम हट्ला?

अर्थसंसार

सोमबार, ३० चैत्र २०७७, ०८ : १० मा प्रकाशित

कोटेश्वर-जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने, ट्राफिक जाम हट्ला?

यात्रुले सबै भन्दा बढी कठिनाई पाउने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ । 

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यही गतिमा काम हुँदा अबको एक महिनामा सम्पन्न गर्न सकिने डिभिजन प्रमुख कुवेर नेपालीले बताउनुभयो । उहाँका अनुसार अर्काे दिशामा भने एउटा घरका कारण निर्माणमा ढिलाइ भएको छ । घरधनीले मुआब्जा रकममा उपभोग क्षेत्रका आधारमा माग गरेका छन् । त्यो घरबाहेक अन्यत्र काम गर्न समस्या नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो घरको पनि सहमति भएपछि दुई महिनासम्ममा सकिनेछ ।” 

यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । सडक कार्यालयले निर्माण शुरु गर्नुभन्दा पहिले सडकका दुवैतर्फको निर्माणस्थल खाली गरेको थियो । देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ । यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिएको थियो । कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तरतर्फ) एक लेन र दाहिने (दक्षिणतर्फ) दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । 

विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो ।  सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्रीसहितको पैदल यात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ । त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने रोकिनुपर्ने छैन । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना रहेको डिभिजनले जनाएको छ ।

यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारी चालक हैरान थिए । तीनकुनेबाट कौशलटारसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो । अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीन रुपमा यसको समाधान ‘फ्लाई ओभर’ भएको सडक विभागले बताउँदै आएको छ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माण गर्न अध्ययन गरिसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको