Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको औसत आधार दर घट्दो, ऋणीलाई राहत

पत्रपत्रिका

विहीबार, ०२ बैशाख २०७८, १० : ४८ मा प्रकाशित

बैंकहरुको औसत आधार दर घट्दो, ऋणीलाई राहत

वाणिज्य बैंकहरुको आधार दर घट्दै गएको छ । चालू आर्थिक वर्षको साउनमा आधारदर ८.०८ प्रतिशत कायम रहेकोमा फागुनमा ६.८४ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसबाट बैकका ऋणीलाई राहत हुने बैकरहरु बताउँछन् । किनकि बैंकहरुको आधारदर सस्तो भएसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ । आधार दर घटेपछि चालु आवको सुरुदेखि नै बैंकहरुको ब्याजदर पनि एकल अंकमा झरिसकेको छ ।

कोभिड–१९ ले आर्थिक गतिविधि सुस्ताएपछि बैंकहरुले लामो समय लगानी वृद्धि गर्न सकेनन् । उक्त समयमा बजारमा तरलता सहज भएपछि बैंकहरुले सस्तो ब्याजदरमा निक्षेप संकलन गर्न थाले । जसको प्रभावस्वरुप बैंकहरुको आधारदर सस्तो भएको हो ।

बैंकहरुले निक्षेपको लागतमा सञ्चालन खर्च जोडेर आधार दर तय गर्नुपर्ने प्रावधान छ । उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण हुन्छ । बैंकहरुले आधारदर भन्दा कममा कर्जाको ब्याजदर तय गर्न पाउँदैनन् ।

बैंकहरुले आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदर स्वतः बढ्ने र आधारदर घट्दा घट्ने व्यवस्था छ । कर्जाको ब्याजदरलाई पारदर्शी र प्रतिष्पर्धी बनाउन राष्ट्र बैंकले आर्थिक वर्ष २०६९/०७० को मौद्रिक नीतिमा आधार दर प्रणालीको अवधारणा ल्याएको थियो । त्यसपछि २०६९ सालदेखि वाणिज्य बैंकमा र २०७० सालदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा यसलाई लागू गरिएको हो । आधारदरसँगै बैंकहरुको ब्याजदर पनि घट्दै गएको छ ।

२०७७ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.४७ प्रतिशत थियो । २०७७ फागुनमा बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.७३ प्रतिशतमा झरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

निक्षेप संकलन कम भए पनि पछिल्लो समय बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । असोजयता बैंकहरुको निक्षेपको तुलनामा कर्जाको वृद्धिदर बढी छ । बैंकहरुसँग उच्च तरलता भएकाले ब्याजदर घटाएर लगानी वृद्धि गरेका थिए ।

चालू आवको फागुनसम्ममा बैंकहरुमा निक्षेप ११ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने १७.४ प्रतिशतले वृद्धि भएको छ । फागुनमा ट्रेजरी बिल र अन्तर बैंकदर समेत घटेको छ । २०७६ फागुनमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.९७ प्रतिशत रहेकोमा २०७७ फागुनमा २.०३ प्रतिशत छ । 

यसैगरी वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ फागुनमा ४.३५ प्रतिशत रहेकोमा २०७७ फागुनमा १.२६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको