Like us!
Follow us!
Connect us!
Watch us!

बिशाल बजारको सेयरमा तिब्र चलखेल, नियामक निकाय मौन

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १५ : ५२ मा प्रकाशित

बिशाल बजारको सेयरमा तिब्र चलखेल, नियामक निकाय मौन

बिशाल बजार कम्पनीको सेयर मूल्यमा तिब्र चलखेल भइरहेको छ । कम्पनीको सेयर मूल्यमा कहिले निरन्तर सकारात्मक सर्किट लागिरन्छ त कहिले नकारात्मक ।

कम्पनीले समयमै वित्तीय विवरणहरु प्रकाशन र समयमै साधारसभा नगरे पछि नेप्सेले कम्पनीको दोस्रो बजार कारोबार करिब ३ महिनासम्म रोक्का गरेको थियो । कारोबार फुकुवा भएको दिनदेखि निरन्तर उकालो लागेको कम्पनीको सेयर मूल्य गत बिहिबार कारोबारको प्रारम्भमा सकारात्मक सर्किट र कारोबारको अन्त्यतिर सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्कम सर्किट लागेको थियो । 

तीन महिनपछि कम्पनीको दोस्रो कारोबार खुल्दा कम्पनीको सेयरको मूल्य २ हजार ८ सय ८० रुपैयाँ मात्र थियो । कारोबारको पहिलो दिनबाटै कुनै दिन सर्किट लाग्दै त कुनै दिन सर्किट लेभलमा पुगेर कम्पनीको सेयर कारोबार भएको थियो । गत बिहिबारसम्ममा कम्पनीको सेयर मूल्य ८ हजार २ सय ८ रुपैयाँसम्म पुगेको थियो ।  

गतहप्ता बिहिबारदेखि कम्पनीको सेयर मूल्यमा निरन्तर नकारात्मक सर्किट लागिरहेको थियो । हिजो बुधबार नेप्सेको प्रिसेसन कारोबारमा पनि कम्पनीको मूल्य करिब ५ प्रतिशतले घटेर ४ हजार ६ सय ५३ रुपैयाँ पुगेको थियो । तर हिजो बुधबार नियमित कारोबार प्रारम्भ भएको केही समयमै कम्पनीको सेयर मूल्य नाटकीय ढंगले बढेर पुनः सकारात्मक सर्किट लाग्न पुग्यो । 

त्यस्तै आज बिहीबार पनि कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतले बृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ५ सय ८३ रुपैयाँले बढेर ५ हजार ९२४ रुपैयाँ पुगेको छ । 

नेप्सेमा कम्पनीको ४ लाख ९१ हजार कित्ता सुचिकृत छ । कम्पनीको सेयर संख्या न्यून भएका कारण सीमित समूहले यसको सेयरमा चलखेल गरिरहेको आरोप सुन्ने गरिन्छ । सामान्य ढंगले हेर्दा पनि कम्पनीको सेयर मूल्यमा जुन नाटकीय ढंगले उतार चढाव आईरहेको छ, त्यसलाई सामान्य मान्न नसकिने बिश्लेषकहरु बताउँछन् । 

सामान्यतयाः कम्पनीको वित्तीय विवरणहरु सकारात्मक वा नकारात्मक आउँदा, कम्पनीले लाभांश वितरण गर्दा, कम्पनीले हकप्रद जारी गर्न लाग्दा सेयर मूल्यमा उतारचढाव आउने गर्छ । तर अहिले बिशाल बजारको सेयर मूल्यमा भने यी कुनै कुराहरु पनि नहुँदा कम्पनीको मूल्य बढेर आकासिन्छ भने कहिले बजारिन्छ । 

कम्पनीको चुक्तापूँजी एकदमै न्यून भएकाले सेयरमा चलखेल गर्ने समूहले यस कम्पनीको सेयरमा पनि चलखेल गरिरहेको जस्तो देखिएको बताउँछन् लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल । आफूहरुले बिगतदेखि नै नियामक निकायलाई कुनै पनि कम्पनीहरुको सेयर मूल्यमा लगातार सकारात्मक वा नकारात्मक सर्किट लाग्छ भने त्यस्ता कम्पनीहरुको कारोबारको अध्ययन अनुसन्धान गरि आम लगानीकर्ताहरुलाई सुचित गर्नुपर्छ भनि दबाद दिईरहेका उनी बताउँछन्  । कुराकानीमा नियामक निकायका प्रमुखहरु संघको  मागमा सकारात्मक देखिए पनि अहिलेसम्म सुनुवाइ हुन नसक्नु दुर्भाग्यपूर्ण भएको अध्यक्ष अर्याल बताउँछन् ।

यदि यो कम्पनीले भोगचलन गरिरहेको सबै सम्पती कम्पनीकै हुने भए हालको सेयर मूल्य बढ्न सक्ला । तर अहिले सम्म त्यो सम्पति सरकारको कि कम्पनीको भन्ने विवाद समाधान भइ नसकेकाले त्यो भौतिक सम्पतीमा यदि कम्पनीको स्वामित्व नरहने हो भने त्यो कम्पनीको सेयर मूल्य ५०० रुपैयाँ पनि बढी हुने अर्यालको तर्क छ । 

कम्पनीको सेयर मूल्य यसरी कहिले लगातार सकारात्मक सर्किट कहिले लगातार नकारात्मक सर्किट लाग्दा नियामक निकायले कम्तीमा पनि के कति कारणले यस्तो भएको हो भन्ने बुझ्नु पर्ने उनी बताउँछन् । तर लगानीकर्ताहरुलाई लगानी गर्दा आफ्नो पूँजी ह्रास हुने कुरामा एकदमै बुझेर, संयमित भएर लगानी गर्न उनको सल्लाह छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको