Like us!
Follow us!
Connect us!
Watch us!

१ घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा ७ बिरामीको निधन

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १६ : ११ मा प्रकाशित

१ घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा ७ बिरामीको निधन

पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९:०० देखि १०:०० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन् । 

बिहीबार रातिदेखि आज बिहानसम्म अस्पतालको मेडिकल आइसोलेशनमा पाँच र डी क्यान्टिन आइसोलेशनमा दुई गरी सात सङ्क्रमितको निधन भएको अस्पतालको मेडिकल आइसोलेशनका फोकल पर्सन डा डेविट श्रेष्ठले जानकारी दिए । 

तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएकी थिइन् । उनको अस्पतालमा शल्यक्रियाविधिबाट सुत्केरी गराइएकामा अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो निधन भएको बताइएको छ ।  

डा श्रेष्ठले भने, “प्लान्टमा उत्पादन कम भएर हो कि किन हो हिजो दिउँसो ४:०० बजेदेखि नै अक्सिजन आउने रोकिने भइरहेको थियो, समयमा अक्सिजन नआउँदा हामीले सेन्ट्रल लाइनमा जोड्न सकेनौँ, राति ९:०० देखि १०:०० बजेसम्म पूरै बन्द भयो, हाइप्mलो र भेन्टिलेटरमा बसेका बिरामीलाई आधा घण्टा वा एक घण्टा अक्सिजन नहुँदा अवस्था के होला ?”

प्रदेशको ठूलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखरा अक्सिजन ग्यास प्रालिसँग अक्सिजन आपूर्तिको सम्झौता गरेको छ । 

पछिल्लो समय अस्पतालमा कोभिडका बिरामी बढेसँगै अस्पतालको माग पनि उच्च छ । हाइफ्लोका बिरामीलाई अलिकति पनि अक्सिजन कमी हुने बित्तिकै समस्या हुने चिकित्सक बताउँछन् । अस्पतालमा पटकपटक अक्सिजन आपूर्ति व्यवस्थापनमा समस्या देखिँदै आएको बताइन्छ । हालको अवस्थामा अस्पतालमा न्यूनतम २५० देखि ३५० सिलिण्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ । पोखरामा रहेका दुई अक्सिजन कम्पनीले प्रदेशमा अक्सिजन आपूर्ति गर्दै आएका छन् । 

कोरोना सङ्क्रमति बढेसँगै सरकारले पश्चिमाञ्चल अस्पताललार्ई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको सो निर्णयसँगै अस्पताल प्रशासनले कोभिड ओपिडी बाहेकका अन्य सबै आपिडी सेवा बन्द गरेको छ । हाल ७० श्ययामा कोरोनाका बिरामीको उपचार हुँदै आएकामा अस्पतालका ४०० हाराहारी श्ययामा नै कोरोना उपचार गर्ने तयारी गरिएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको