Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्कंदै विद्युत् उत्पादन

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १२ : १८ मा प्रकाशित

लयमा फर्कंदै विद्युत् उत्पादन

लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन् । नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षात्पछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन् ।

डुम्रे–बेँसीशहर सडकखण्ड नजीकै जिल्लास्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । केही दिनअघिसम्म ५०-५५ मेगावाट मात्र बिजुली उत्पादन रहेकामा तीन दिनअघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए । उनले भने, “केही दिनको निरन्तर पानीले मस्र्याङ्दी नदीमा पानीको बहाव वृद्धि भएसँगै बिजुली उत्पादन बढेको छ ।

आयोजनाका अनुसार यस नदीमा पानी कम हुँदा विद्युत् उत्पादन घटेर यस वर्ष २२-२३ मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको थियो । विगतका वर्षमा २५-२६ मेगावाटभन्दा कम विद्युत् उत्पादन भएको थिएन । आयोजनामा ३५-३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाटको बिजुली उत्पादन हुँदै आएको छ । यस आयोजना जिल्लाकै पहिलो तथा ठूलो आयोजना हो । यस आयोजनामा गत मङ्सिरको दोस्रो हप्ताबाट बिजुली उत्पादन घटेको थियो । सन् २००० मा निर्माण कार्य शुरु गरेको यस आयोजनाले सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । यस आयोजना रु २७ अर्ब २० करोड लागतमा निर्माण भएको थियो ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–७ र ८ भुलभुलेस्थित ५० मेगावाट क्षमता भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् पूरै क्षमतामा उत्पादन हुन थालेकोे छ । एक हप्ताअघिसम्म ३२ देखि ४० को हाराहारीमा उत्पादन हुँदै आए पनि सो यता आयोजनाको पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनीयर कर्ण अधिकारीले बताएका छन् । उनले भने, “पुस÷माघ महिनामा त उत्पादन घटेर २५ मेगावाट मात्र बिजुली उत्पादन भएको थियो । अब मस्र्याङ्दी नदीमा पानी बढेकाले उत्पादन पूरै क्षमतामा भएको उनको भनाइ छ । यस आयोजनामा २५-२५ क्षमताको दुईवटा टर्वाइन गरी ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो ।

सन् २०१३ जनवरीबाट आयोजनाको निर्माण कार्य शुरु गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करीब रु १६ अर्ब लागतमा निर्माण सम्पन्न भएको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ । यस आयोजना हालसम्म उत्पादन थालेका जलविद्युत् आयोजनामध्ये दोस्रो ठूलो आयोजना हो ।

यस आयोजनाबाहेक जिल्लामा उत्पादन थालेका पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको क्षमताको राधी, चार मेगावाटको खुदी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याङ्गे जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादन वृद्धि भएको बताइएको छ ।

जिल्लामा केही आयोजनाहरुले समेत निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीमा रहेका छन् । दोर्दी कोरिडोरमा मात्र चार आयोजनाहरु निर्माणाधीन रहेका छन् । ती आयोजनाहरुले अधिकांश काम सम्पन्न गरिसकेका छन् । उक्त कोरिडोरमा निर्माण सम्पन्न भएपश्चात् ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना जिल्लाकै दोस्रो ठूलो आयोजना हुने भएको छ ।

नेपालडाँडा–तार्कुघाट– बोराङखोला सडक कालोपत्र धमाधम

कोरोना सङ्क्रमणको दोस्रो लहर सरकारद्वारा जारी निषेधाज्ञा र सङ्क्रमणको जोखिमका बीच नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्र गर्ने कार्य तीव्ररुपमा अघि बढिरहेको छ । छिमेकी जिल्ला तनहुँ नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका बोराङखोलासम्मको १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनीयर सुमन गिरीले बताए ।

उनले भने, ‘‘निषेधाज्ञा र कोरोना सङ्क्रमणका बेलासमेत विकास निर्माणलाई तीव्रता दिँदै यस सडकमा कालोपत्र गर्ने कार्य भइरहेको छ । सरकारले जनतालाई छिटोछरितो सेवा प्रदान गर्नका लागिसमेत महामारीका बेला स्वास्थ्य सावधानी अपनाउँदै विकास निर्माण कार्यलाई अघि बढाइरहेको छ ।’’ जिल्लाको राइनास नगरपालिकाअन्तर्गत नगरको मुख्य सडक नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक हो । यस सडकको कालोपत्र गर्ने कार्य ७० प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङका यस सडकखण्ड हेर्ने इन्जिनीयर सुरज रिमालले बताए ।

धमिलीकुवादेखि तीनपिप्लेसम्म छ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको उहाँको भनाइ छ । नेपालडाँडा–तार्कुघाट हुँदै भैँसीखोलासम्म कालोपत्र गर्ने कार्य भइरहेको छ । कालोपत्र गर्ने कार्य गत चैत २७ गतेदेखि शुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस सडक गण्डकी प्रदेश सरकारको प्रादेशिक सडक योजनाअन्तर्गत १० किलोमिटर सडक कालोपत्र भइरहेको हो ।

यस सडक निर्माणको प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत उक्त सडक २०७६ पुसदेखि आगामी २०७८ मङ्सिरसम्म निर्माण अवधि रहेको छ । सो अगावै आगामी असार महिनाभित्रै निर्माण कार्य सम्पन्न हुने बताइएको छ । गत वर्षमा समेत कोरोनाका कारणले सरकारद्वारा जारी लकडाउनका बेला नौ महिना निर्माण कार्य ठप्प भए पनि यस सडकको निर्माण कार्य धेरै छिटो र गुणस्तरीय भइरहेको इन्जिनीयर रिमालको भनाइ छ ।

उनका अनुसार हालसम्म समग्रमा यस सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । हालसम्म १० किलोमिटरतर्फ नाली र अर्कोतर्फ करीब एक हजार ५०० मिटर गरी साढे ११ किलोमिटर नाली बनाउने कार्य, मेशिनरी पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, भैँसीखोला, भब्बेडाँडा, सातबिसेखोला र रेमीखोलामा पक्की पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

त्यस्तै विभिन्न स्थानमा हिमपाइप, छ वटा कज्वे बनाउने कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडक निर्माण तथा कालोपत्रका लागि प्रदेश सरकारको रु २८ करोड ७४ लाख ७५ हजार १८७ लामा कन्सट्रक्शन प्रालिले यस सडकको निर्माण कार्य गरिरहेको छ । यस सडक कालोपत्र भएसँगै यस पालिकाका नागरिकसँगै दूधपोपारी गाउँपालिका र छिमेकी जिल्ला गोरखा नागरिकलाई धेरै सहज हुने भएको छ । यस सडक तनहुँ भानु नगरपालिका–१० नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटसम्म एक किलोमिटर भूभाग तनहुँमा पर्दछ भने तार्कुघाटदेखि वडा नं १ बोराङखोलासम्म नौ किलोमिटर सडक लमजुङतर्फ पर्दछ । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको