Like us!
Follow us!
Connect us!
Watch us!

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने

अर्थ संसार

बुधबार, ०२ असार २०७८, ०९ : २६ मा प्रकाशित

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने

चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता भएको छ । मङ्गलबार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक अर्जुन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
कार्यक्रममा महर्जनले स्मार्ट सडकबत्ती जडान गर्न करिब रु १७ करोड ३६ लाख लाग्ने अनुमान गरिएकामा महानगरपालिकाले कूल लागतको ६० प्रतिशत रकम बेहोर्ने बताए । उनले भन्नुभयो, “हामी ललितपुरलाई उज्यालोका साथै सुरक्षित शहर बनाउने अभियानअन्तर्गत यस काममा लागि परेका हौँ । चक्रपथ क्षेत्र हेर्दा आधुनिक अनि आकर्षक देखिए पनि असुरक्षित रहँदा रातमा हुने दुर्घटनामा परी धेरैको ज्यान गएको छ ।” महानगरपालिकाले खर्च गर्ने भनिएको रकममध्ये रु तीन करोड विभागले पनि खर्च गर्ने सहमति भएको महानगरपालिकाले जानकारी गराएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सडकबत्ती प्रभावकारी भएको जनाउँदै आफूहरुले बत्ती जडानमा लाग्ने बाँकी ४० प्रतिशत रकम बेहोर्ने सम्झौता गरेको बताए । विभागका महानिर्देशक थापाले स्मार्ट सडकबत्ती जडानले आपराधिक क्रियाकलाप न्यूनीकरणमा निकै मद्दत पुग्ने धारणा राखे । उनले भन्नुभयो, “चक्रपथ क्षेत्रलाई सुरक्षित बनाउन हामीले विभिन्न अन्य योजनामा पनि काम गरिरहेका छाँै ।” महानगर उपप्रमुख गीता सत्यालले सो क्षेत्रमा स्मार्ट सडकबत्ती जडान भएसँगै सहरको सौन्दर्य बढ्ने अपेक्षा गरे । 

यसअघि महानगरपालिकाले शहरलाई सुन्दरका साथै भयमुक्त गराउन वाग्मती पुलदेखि जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालय होटल, पाटनढोका, अशोक हल, क्वालखु हुँदै मङ्गलबजार लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म ६६९ स्मार्ट सडकबत्ती जडान गरिसकेको जनाएको छ । 

महानगरपालिकाका वरिष्ठ इञ्जीनियर रुद्रप्रसाद गौतमले दोस्रो चरणअन्तर्गत चक्रपथबाहिरका बस्ती खोकना, बुङ्मती, हरिसिद्धि, सुनाकोठी, धापाखेलमा सडकबत्ती जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी गराए । 

त्यसैगरी गत आइतबार लगनखेलस्थित राजदल गण परिसरमा रहेको पले स्वाँ पोखरीमा पानी भर्न आवश्यक सम्पूर्ण काम गरिने सम्झौता गणका गणपति र प्रमुख महर्जनबीच भएको थियो । सेनाको गण हाताभित्र रहेको करिब ३० रोपनी सुक्खा दुई पोखरीमा पानी भर्न आउँदो आर्थिक वर्षबाट काम शुरु गरिने सम्बन्धित निकायले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको