Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा ९९ प्रतिशतले बढ्यो

पत्रपत्रिका

विहीबार, ०३ असार २०७८, ०७ : १८ मा प्रकाशित

सेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा ९९ प्रतिशतले बढ्यो

पूँजीबजारको आकार र कारोबार बढेसँगै बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को वैशाखको तुलनामा चालू आवको वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा वृद्धिदर ९९ दशमलव १९ प्रतिशतले बढेको छ ।

गत आवको १० महीनाको तुलनामा चालू आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कुल कर्जा ९४ अर्ब ३४ करोड ४० लाख पुगेको छ । यो वाणिज्य, विकास बैंक र वित्त कम्पनीमार्पmत भएको कर्जा प्रवाह हो ।


गत आवको सोही अवधिमा मार्जिन प्रकृतिको यस्तो कर्जा ४७ अर्ब ३६ करोड ५० लाख बराबर प्रवाह भएको थियो । यसपटक थप ४६ अर्ब ९७ करोड ९० लाख रुपैयाँले कर्जा प्रवाह भएको छ ।

वैशाखसम्मको कुल कर्जा प्रवाहमा मार्जिन प्रकृतिको कर्जाको अंश २ दशमलव ३२ प्रतिशत रहेको छ । यसअवधिमा कुल कर्जा ४० खर्ब ६१ अर्ब ४० करोड ५० लाख प्रवाह भएको छ । यसअवधिमा वाणिज्य बैंकको कर्जा वृद्धिदर ११४ दशमलव ८६ प्रतिशत रहेको छ ।

सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूमा गत आवको वैशाखसम्म ३७ अर्ब ९८ करोड ३० लाख रुपैयाँ हाराहारीमा कर्जा प्रवाह भएकोमा गत वैशाखमा रू। ८१ अर्ब ६१ करोड २० लाख पुगेको छ ।

वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्नेमा ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबलले यस शीर्षकको कर्जामा ७ अर्ब ५१ करोड ६० लाख रुपैयाँ प्रवाह गरेको छ । 

पछिल्लो समय नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जा ग्राहकले सुरक्षणबापत राखिने शेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ उक्त रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यसअघि १२० कार्य दिनको मूल्यांकन गर्न पाइन्थ्यो । 

यसरी प्रवाह गर्ने कर्जाको ब्याजदर पनि अघिल्ला वर्षको भन्दा कम छ । सस्तो ब्याजदर र शेयर धितो कर्जाको सीमा सहज भएकाले पनि लगानीकर्ताहरू यस्तो कर्जामा आकर्षित भएका हुन् । विगतमा वाणिज्य बैंकहरूको यस्तो कर्जामा १३–१४ प्रतिशतसम्म लिने गरेका थिए । अहिले शेयर धितो कर्जाको ब्याजदर न्यूनतम साढे ६ प्रतिशतदेखि साढे ७ प्रतिशतको हाराहारीमा रहेको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको