धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता विभिन्न ५ वटा कम्पनीकाे सेयर सूचीकृत भएकाे छ । स्टकका अनुसार एउटा कम्पनीकाे बाेनस सेयर, एउटा कम्पनीकाे हकप्रद सेयर, २ वटा म्युचुअल फण्ड र एउटा बैंककाे ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हाे ।
प्रभु सेलेक्ट फण्डकाे १२ करोड ५० लाख कित्ता इकाई साेमबार नेप्सेमा सूचीकृत भएकाे हाे । फण्डले दोस्रो बजारमा कारोबारको लागि PSF सिम्बोल प्रदान गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारसम्म प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियाे । क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको कुल १० करोड इकाई निष्कासन गरेको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको हो । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।
नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हाे । कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ हजार एक सय ९९ कित्ता हकप्रद सेयर पनि मंगलबार नै नेप्सेमा सूचिकृत भएकाे हाे । उक्त सेयर संस्थाले लिलामी मार्फत् बिक्री गरेकाे पुरानाे हकप्रद हाे ।
कामना सेवा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएको हाे । ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ को १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गते, बिहीबारसम्म १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।
त्यसैगरी, एनआईबिएल समृद्धि फण्ड–२ काे १५ करोड इकाई शुक्रबार नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि NIBSF2 सिम्बोल प्रदान गरिएको छ । अब आइतबारदेखि दोस्रो बजारमा काराेबार सुरू हुनेछ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले वैशाख १३ गते, साेमबारदेखि वैशाख १६ गते, बिहीबारसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरिएकाे थियाे ।
योजनाको कुलआकार १ अर्ब ५० करोड रुपैयाँको जम्मा २० प्रतिशत बीजपूँजीको रुपमा लगानी गर्नुपर्ने रकम ३० करोड रकममध्ये २९ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख इकाई कोषप्रवद्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड, १ करोड रुपैयाँ बराबरको १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँड गर्नुपर्ने जम्मा १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको थियाे । साेही इकाई नेप्सेमा सूचीकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस