Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपुरथिमिको ३ अर्ब ३८ करोडको बजेट पारित

अर्थ संसार

आइतबार, २७ असार २०७८, १५ : ३४ मा प्रकाशित

मध्यपुरथिमिको ३ अर्ब ३८ करोडको बजेट पारित

मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजारको बजेट सर्वसम्मतिले पारित गरेको छ ।

विगत वर्षमा विवाद र बहिष्कारले बजेट पारित गर्न हम्मे पर्ने नगरपालिकाले यस वर्ष पाँचौँ नगरसभामा उपप्रमुख अञ्जनादेवी मधिकर्मीले सभामा प्रस्तुत गर्नुभएको बजेट व्यापक छलफलपछि सर्वसम्मतिले पारित गरेर उदाहरणीय नमूना प्रस्तुत गरेको हो ।

नगरसभाले चालू तथा पूँजीगततर्फ रु एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार, कमेरोटार जग्गा एकीकरण आयोजनातर्फ रु ८० करोड २१ लाख ११ हजार र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालतर्फ रु ६५ करोड ९३ लाख ७६ हजार बजेट पारित गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

नगरपालिकाले स्वास्थ्यतर्फ नेपाल कोरियामैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन २०७७ लाई संशोधन गरी सञ्चालक समिति १५ जनाको बनाएर पूर्णता दिइने, अस्पतालका लागि वडा नं २ र ३ मा स्वास्थ्य चौकी आगामी वर्ष सञ्चालनमा ल्याउने, एमआरआई, क्याथ ल्याब, सिटिस्क्यान र ब्लड बैंक सञ्चालनका लागि रु १९ करोडको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता राम थापाले जानकारी दिएका छन् ।

त्यस्तै उक्त अस्पतालको पूर्वाधार विकासका लागि रु एक करोड, कोभिड व्यवस्थापनका लागि रु एक करोड, जातीगालको शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि रु लाखको बजेट विनियोजन गरिएको छ ।

नगरसभाले कर्मचारी समायोजन विधेयक २०७८ पारित गर्नाका साथै उपभोक्ता समितिमार्फत सञ्चालन हुने नगरस्तरीय योजनामा उपभोक्ता समिति गठन गर्दा उपप्रमुख तथा वडाध्यक्षको अनिवार्य उपस्थिति र वडास्तरीय उपभोक्ता समिति गठन गर्दा नगरप्रमुख तथा उपप्रमुख उपस्थिति हुनुपर्ने नियम बनाएको छ ।

नगरसभाले नगरपालिकामा कार्यरत कर्मचारीको समायोजनका लागि कर्मचारी समायोजन विधेयक–२०७८ स्वीकृत गरेको छ । उक्त विधेयकले स्थानीय स्वायत्त ऐन २०५५ र सोको नियमावली २०५६ बमोजिम स्थायी नियुक्ति भएका कर्मचारीको समायोजनका लागि बाटो खुला गरेको छ ।

सभाले नगरपालिकामा कार्यरत नगर सामाजिक परिचालिकालाई निरन्तरता दिँदै निजको खाइपाइ आएको पारिश्रमिकमा रु दुई हजार बढाउने निर्णय गरेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन २०७७ संशोधन गरी १३ सदस्यीयबाट दुई थप गरी १५ जनाको सञ्चालक समिति रहने गरी पारित गर्ने निर्णय गरिएको छ ।

सभाले नगरपालिकामा हाल कार्यरत २० नगर स्वयंसेवकलाई व्यवस्थापन गर्ने निर्णय गर्दै हाल कार्यरत नगर प्रहरीलाई निरन्तरता दिँदै बाँकी दरबन्दीमा नियमानुसार सेवा करारमा पदपूर्ति गर्ने निर्णय गरेको छ । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको