Like us!
Follow us!
Connect us!
Watch us!

बजारभन्दा खाद्यको चामल महँगो

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १५ : २३ मा प्रकाशित

बजारभन्दा खाद्यको चामल महँगो

खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल रु तीन महँगो भएको गुनासो आउन थालेको छ ।  

खाद्यले बिक्री गर्ने चामलको प्रतिकेजी रु तीनको फरक परेपछि संस्थानको चामल नबिकेको जयपृथ्वी नगरपालिका– ११ भोपुरका सुरेन्द्र जोशीले बताए । मूल्य घटाउन केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको जिल्लास्थित खाद्यका शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले बताए । 

पाण्डेले भने, “सरकारी कार्यालयले कोरोना महामारीमा राहत वितरण गर्ने बेला त लिएनन्, आजभोलिको त कुरै छोडौँ, सरकारी कार्यालयका नाममा कारागारबाहेक अरु कुनैले पनि चामल लिदैनन् ।” खाद्यको कार्यालयमा पुग्नका लागि यातायातको पहुँच पनि छैन । खाद्यको शाखा कार्यालय देवलबाट गत आवमा १५३ क्विन्टल चामल मात्र बिक्री भएको छ । जिल्लामा शाखा कार्यालय र तीन डिपो गरी चार बिक्री केन्द्रमध्ये सबैभन्दा बढी साइपाल गाउँपालिकाको काँडा डिपोबाट वर्षेनी चार हजार क्विन्टल चामल बिक्री हुने गरेको छ । 

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै ग्राहाक जाने गरेका पाइएको छ । शाखा कार्यालय, डिपो कार्यालय बिसौना र तलकोटबाट प्रतिकिलो रु ४५ र काँडा डिपोबाट प्रतिकिलो रु ५० मा अरुवा मोटो चामल बिक्री हुँदै आएको छ । 

यही चामल बजारमा प्रतिकिलो रु ४२ मा बिक्री हुने गरेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । संस्थानको चामलको मूल्य महँगो भएको जनगुनासो आए पनि खाद्यका प्रमुख पाण्डेले केन्द्रबाटै निर्धारण भएर आएकाले मूल्य केन्द्रबाट परिपत्र नआउँदासम्म शाखाले घटबढ गर्न नसकिने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको