Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मर्स्याङ्दी ‘ए’बाट अझै विद्युत् उत्पादन हुन सकेन

अर्थ संसार

शनिबार, १२ भदौ २०७८, १२ : ५१ मा प्रकाशित

माथिल्लो मर्स्याङ्दी ‘ए’बाट अझै विद्युत् उत्पादन हुन सकेन

बाढी पहिराले क्षति पुर्‍याएको साढे दुई महीना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट(मेवा) क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन ।

गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै संरचना हालसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा विद्युत् उत्पादन हुन नसकेको हो ।     
     
आयोजनाका अनुसार दुई ओटै टर्बाइनलगायतका संरचनामा क्षति पुगेको छ । अन्य संरचना निर्माण भइरहेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करीब तीन महीना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।

उनका अनुसार उक्त बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ । यस ११ केभीका १० खम्बा बगाएको थियो भने ३० ढालेको थियो । यतिबेला खम्बा राख्ने तथा मर्मत गरिएको आयोजनाले बताएको छ ।     
     
यसरी बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति बनाएपछि विद्युत् उत्पादन हुन नसक्दा दैनिक करीब १ करोड रुपैयाँको हाराहारीमा नोक्सान भइरहेको आयोजना जनसम्पर्क अधिकृत अधिकारीको भनाइ छ ।

आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म ७५ करोड रुपैयाँभन्दा बढी नोक्सान भइसकेको छ । अझै तीन महीनासम्मै बिजुली उत्पादन गर्न लागेमा करीब १ अर्ब रुपैयाँ नोक्सान हुने बताइएको छ ।

क्षतिग्रस्त विद्युतगृहका उपकरण चीनबाट आयात गर्ने तयारी भएको आयोजनाले बताएको छ । त्यस्तै क्षति पुगेका आयोजनाका अन्य संरचनामा मर्मत कार्य जारी छ । विद्युत् उत्पादन थालेको आयोजनामध्ये यो आयोजना जिल्लाकै दोस्रो हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको