सिन्धुपाल्चोकस्थित हेलम्बुका राजकुमार भण्डारीलाई असार १ गते र साउन १६ गतेकोे कहालीलाग्दो समयले अझै मन त्रसित बनाइरहन्छ । उनले कहिल्यै पनि सोचेनन्, मेलम्ची नदीमा त्यस्तो बाढी आउला र बस्ती नै उजाड बनाउला । आसपासका हरियाली खेतहरु बगरमा परीणत हुनेछन् भनेर पनि उनले सोचेका थिएनन् । बाढीले उनको ब्यक्तिगत सम्पत्तीको विनासमात्र गरेन कृषीमा नकारात्मक प्रभाव पार्दा अर्थतन्त्रलाई पनि धक्का दिएको आशंका छ ।
असार १ गते माथिल्लो तटीय क्षेत्र हेलम्बु–१ को शेर्पा गाउँबाट नदी अचानक बढेकाले सतर्कता अपनाउन फोन आयो । हेलम्बु नदी आसपासको १ सय मिटरभन्दा माथि नै थियो । त्यो दिन उनीहरु नदी आसपासको बस्तीमा भएका मानिसलाई जोगाउन लागे । हेर्दाहेर्दै नदी आसपासका सबै बस्ती बगायो, छिन्भरमै बगरमा परीणत बनायो । यसले मन खिन्न बनाइरहेको भण्डारीलाई १६ साउनको बाढीले अझै तनाव थपिदियो ।
“१६ गते साँझको ७ बजेको थियो होला, माथिको गाउँबाट एक्कासी नदी बढेर बाढी आएको खबर थाहा पायौं, हताहतार महत्वपूर्ण सामानसहित हामी भाग्यौ,” उनी सम्झन्छन्, “यदि यसरी नभागेको भए बाढीको कारण हामी कतिले ज्यान गुमाइसकेका हुन्थ्यौ होला ।”
मेलम्ची बजारका सागर श्रेष्ठलाई पनि अझै ती कहालीलाग्दो बिगतले झस्काइरहन्छ । आँखै अगाडी मेलम्ची बजार नै तहसनहस भएको नमिठो र अकल्पनीय दृश्य अझै पनि आँखामा नाचिरहन्छ । काहालीलाग्दो त्यो क्षणहरु मनमटुमा नमिठो सम्झना बनेर छचल्किएको छ । बजार तहसनहस त भयो तर धेरैको ज्यान जानबाट जोगियो । कारण थियो माथिल्लो तटीय क्षेत्रबाट पाएको पूर्वसूचना । “बाढी आउँछ र यी ठूलो क्षति गर्छ भन्ने कुरा त कल्पना पनि गरेका थिएनौं, हेलम्बु १ वडाका साथिहरुले पहिरो गएर पानी थुनिएको छ, क्षति हुन सक्छ सतर्कता अपनाउन भन्नुभयो,” श्रेष्ठ सम्झन्छन्, “नभन्दै बाढी पनि आउन थाल्यो, हेर्दा हेर्दै लेदोसहितको बाढीले अस्थायी संरचना बगाउन थाल्यो, रातारात हामी भागेर सुरक्षित स्थानमा गयौं, यदि माथिको भेगबाट सूचना नआएको भए त हामी पनि बाच्ने थिएनौ होला ।”
श्रेष्ठले भने झै बाढीले अर्बौ धनको क्षति त गरायो । तर धेरै जनाको ज्यान जोगायो, माथिल्लो भेगबाट दिईएको पूर्वसुचनाका कारण । बाढीकै कारण करिव मेलम्चीमा मात्रै ४ हजार बिस्तापित छन् । यदि मोवाई फोनको जमना नभएको भए बाढीको सूचना तल्लो क्षेत्रका मानिसले पाउन सक्दैनथे । धेरैले अकालमै ज्यान गमाउनुपथ्र्यो होला । राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणका अनुसार, मेलम्चीको बाढीका कारण हालसम्म ५ जानाले ज्यान गुमाइसकेका छन् भने २५ जाना बेपत्ता भएका छन् ।
७ वर्ष पहिले वर्षातको समयमा कर्णाली नदीमा ठूलो बाढी आयो । बाढीसँगै बर्दियाको राजपूरको अस्तित्व नै बगाइदियो । ६० घर बाढीसँगै बगेर गए तर ठूलो बाढी आएर पनि त्यहाँका मानिसलाई बगाउन पाएन । धनको क्षति भयो तर मानविय क्षति हुन सकेन । सरकारी तबरबाट स्थापना भएका बाढी पूर्वसूचना केन्द्र र प्रणालीले नै जोगाएका हुन् त्यहाँका मानिसलाई । ती पूर्वसूचना केन्द्र र प्रणाली स्थापना नभएको भए बाढीको चेपेटा परेर अकालमा नै ज्यान गुमाउनेको संख्या सयौं पुग्न सक्थ्यो ।
७ वर्ष पहिले नै भेरी नदीमा ठूलो बाढी आयो । त्यो बाढीले सुर्खेतको जामु भन्ने बजार नै बगायो । हेर्दाहेर्दै परीणत भयो मरुभूमीमा त्यो बजार । २६ जानाले अकालमै ज्यान पनि गुमाए ।
अब प्रश्न उठ्न सक्ला, बर्दियामा घर बगायो तर मान्छे किन मरेनन् र सुनसरीमा मान्छे किन बाँच्न सकेनन् ? बर्दियामा बाढी आउँदैछ है भनेर सर्वसाधारणलाई सुसूचित गर्ने पूर्वसूचना केन्द्र र प्रणाली जडान गरिएको थियो । बाढीको पूर्वसूचनाकै कारण स्थानीय सुरक्षित क्षेत्रमा सर्न सके । आफ्नो महत्वपूर्ण धनमालको संरक्षण गर्न सफल भए, बाढी आउनु अगावै । तर सुर्खेतमा पूर्वसूचना दिने प्रविधि जडान गरिएको थिएन । बर्दियामा झैं बाढी आउँदैछ है भन्ने पूर्वसूचना पाउन सकेको भए सुर्खेतमा पनि २६ जानाले ज्यान गुमाउनु पर्दैनथ्यो ।
२०७१ सालमा नै बबई नदीमा ४ पटक बाढी आएको थियो । त्यहाँ पनि बाढी सम्बन्धि पूर्वसूचना दिने प्रविधि जडान गरिएको थियो । त्यसकारण नदी आसमासका क्षेत्रमा बसोबास गर्ने मानिसहरु बाढी आउनु अगावै सुरक्षित क्षेत्रमा सरेका थिए । सुरक्षित ठाउँमा गएका कारण त्यहाँ पनि मानवीय क्षति हुन पाएन ।
गत वर्ष पनि नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गयो । ३७ वर्षकै ठूलो बाढी आयो । तर मान्छे बग्नबाट भने बँचे । यसको कारण थियो–बाढी आउँदैछ भन्ने पूर्वसूचना स्रम्प्रेषण । यही कारण नारायणी नदीको बाढीले मानिसलाई जोगायो । पहिल्यै नै उनीहरु सुरक्षित स्थानमा बस्न पाएकाले जोगिएको हो ।
समय परिवर्तनसँगै बाढी कतिबेला आउँला भनेर हेर्नकै लागि अग्ला अग्ला टावरहरु बनाइयो । टावरमा चढेर उपल्लो भेगका मान्छेहरु नदीमा हेरेर बस्थे । अनि ठूलो पानी परेर खोलाको सतह बढ्यो भने तल्लो भेगका मान्छेलाई चिच्याएर खबर पठाउने प्रयास गरिन्थ्यो । त्यो पनि भर पर्दो हुन सकेन । बाढी आएपछि तल्लो भेगका मानिसलाई सूचना पु¥याउन समय लाग्थ्यो । अनि सर्वसाधरणहरु भाग्न भ्याउदैन थिए । सन् २००८ अघिसम्म मानव स्वचालित स्टाफगेज (जल सतह मापन यन्त्र) को प्रयोग गर्न थालियो । त्यतिबेला स्टाफगेज हरेर नदीमा पानीको सतह कतिसम्म पुगेको छ र बाढी आउने सम्भावना छ कि छैन भनेर पत्ता लगाउने गर्थे । बाढी आउने भए स्थानीय प्रतिनिधिलाई आवासेटमार्फत खवर पु¥याइन्थ्यो । बाढी आउने सम्भावित क्षेत्रका मानिसहरुका लागि यो प्रविधि पनि छिटो र छरितो बन्न सकेन ।
पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिको रुपमा सन् २००० मै विश्वका विकसित देशहरुले राडार र प्रेसर बब्लर सेन्सरको प्रयोग गर्न थालेका थिए । सन् २००५ मा जापानमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनले बाढी प्रभावित देशहरुलाई बाढीको पूर्वसूचनाको प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न राडर र बब्लर सेन्सरको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखि नेपालमा पनि यो प्रविधिको प्रयोग हुन थालेको हो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बाढी सम्बन्धि पूर्वसूचना भरपर्दो रहेको दाबी गर्छन् । “हामीले ३ दिनसम्मको पूर्वानुमान गर्दै आएका छौं, बाढी सम्बन्धि पूर्वसूचना एसएमएसमार्फत प्रभावित हुने समुदायलाई पठाउँछौ, यसले पछिल्लो समय मृत्युदर पनि घटाएको छ,” उनले भने, “तराइका ठूला नदीमा आधारित पूर्वसूचना प्रणाली जडान भए पनि अझै धेरै नदीहरुमा जडान गर्नुपर्ने छ, ६ हजार नदी नाला छन् , बिस्तारै पहाडमा केन्द्रित हुने छौं ।”
जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिएर मानविय क्षति कम गराउन सक्रिय देखिएको छ । हाल प्रयोग भइरहेका राडार सेन्सर र बब्लर सेन्सर स्वचालित रुपमा सञ्चालन हुने र समयमा नै बाढीको पूर्वसूचना दिन यो प्रविधि प्रभावकारी छ ।
जलवायु तथा विपत व्यवस्थापनविद् डा. धर्म उप्रेतीले बाढी पहिरो जस्ता मुख्य मनसुनजन्य विपत्ति सम्बन्धि पर्वसुचना बिस्तार गर्न सकेमा वर्षेनी हुने धनजनको क्षति न्यूनिकरण गर्न सहयोग पुग्ने बताउँछन् । “बाढीका पूर्वसूचना पनि सबै ठाउँमा दिन सकेका छैनौ, सबै खोलहरुको पनि पूर्वसुचना दिन आवश्यक छ र पहिरो सम्बन्धी पनि पूर्वसूचना बिकास गर्न आवश्यकम छ,” उनले भने, “समुदायमा आधारित सूचना प्रणालीलाई राष्ट्रिय स्तरमा पु¥याउनुपर्छ र स्थानीय तहलाई पनि सबल बनाउन आवश्यक छ ।”
पहिरो सम्बन्धि पूर्व सूचनाको पनि आवश्यक
बाढी सम्बन्धी पूर्वसूचनाका कारण भनजनको क्षति कम हुँदै आए पनि नेपालमा पहिरो सम्बन्धि पूर्वसूचनाको विकास ह्ुन नसकेको छैन । विज्ञहरुले पहिरो सम्बन्धि पूर्वसूचनाको विकास जरुरी रहेको औल्याएका छन् ।
भू–गर्वविद् डा. सुवोध ढकालले पहिरो सम्बन्धि पनि पूर्वसूचना विकास हुन सकेमा मनसुनजन्य विपत्तिबाढ हुने क्षति कम गर्न सकिने बताए ।
यसै वर्षको मनसुनदेखि पहिरोजन्य विपद् जोखिम न्यूनिकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा प्रभावमा आधारित पूर्वसुचना प्रणालीिको थालनी गरेको छ ।
सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालिकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङ, गरी ९ जिल्लाका अति जोखिमयुक्त ३६ वटा पालिकाहरुमा यस प्रकारको प्रणाली जडान गर्न लागिएको छ । यो कार्यक्रमले पहिरोको पूर्वानुमान गरी त्यसबाट प्रभावित हुन सक्ने सर्वसाधरणलाई पूर्व जानकारी दिई सुरक्षित बताउने प्रयास गरिनेछ । अग्रिम सूचना दिनु र विपद्पूर्व तयारी अवस्थामा रहन सहयोग पु¥याउनु नै यस प्रभावमा आधारित पूर्वसूचना प्रणालीको मुख्य उद्देश्य रहेको छ ।
(याे समाचार आजको कारोबार दैनिकमा छ ।)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस