Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा भित्रियो यस वर्षको मनसुन

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १० : ३५ मा प्रकाशित

नेपालमा भित्रियो यस वर्षको मनसुन

नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागसम्म पुगेको मौषमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार नेपालका अन्य भू–भागमा भने केही दिनमा क्रमिकरुपमा मनसुन फैलिँदै जाने छ ।

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यद्यपि, यो सम्भावना स्थानपिच्छे फरक–फरक हुने जनाइएको छ ।

यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । गत वर्ष भने औसतमै वर्षा भएको थियो । नेपालमा जुन, जुलाई, अगस्त र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मान्ने गरिएको मौषमविद् प्रधानाङगले बताए । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई लाख ८६ हजारभन्दा बढी घरपरिवारलाई यस वर्षको मनसुनले असर गर्नसक्ने सम्भावना छ ।

पछिल्लो २४ घण्टामा लमजुङको खदीबजारमा सबैभन्दा बढी एक सय ३५ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । त्यसैगरी बुधबार काठमाडौँमा ३९ दशमलव पाँच मिलिमिटर पानी परेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको