नेपाल उद्योग परिसंघले चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटको स्वागत गरेको छ । परिसंघले एक विज्ञप्ति जारी गर्दै आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने घोषणा स्वागतयोग्य भएको बताएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको प्रतिस्थापन विधेयकले नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि योगदान पुर्याउने परिसंघको विश्वास छ । साथै विधेयकले परिसंघले अघि बढाएको’ मेक इन नेपाल– स्वदेशी’ अभियानलाई सहयोग पुग्ने बताइएको छ ।
स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवम् तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको घोषणा छ । कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न हुने गरी वस्तु उत्पादन गर्ने उद्योगलाई स्वदेशी उत्पादन अभियानमा सहभागी गराई आवश्यक प्रोत्साहन गर्ने विषयलाई परिसंघले स्वागत गरेको हो ।
बहुआयामिक गरिबी न्यूनीकरण, अर्थतन्त्रको पुनरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि र समावेशी एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुलभूत उद्देश्य राखिएको विधेयकले अर्थतन्त्र चलायमान बनाउने प्रमुख यन्त्रको रूपमा निजी क्षेत्रलाई लिएको छ । यो घोषणा स्वागतयोग्य भएको परिसंघले बताएको छ ।
विधेयकमा औद्योगिक उत्पादनको लागत कम गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन उच्चस्तरीय सहजीकरण समिति गठन गर्ने व्यवस्थाले नेपालको उत्पादनको लागत कम गर्न नीतिगत सुधारका लागि सहयोग गर्ने परिसंघको बुझाई छ ।
व्यवसायिक सहजता सूचकमा सुधारका लागि नीतिगत र कानुनी व्यवस्था गर्ने सरकारको घोषणाले नेपालमा सहज व्यावसायिक वातावरण निर्माणमा सहयोग पुग्ने परिसंघले विश्वास लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस