अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारले सुशासन र मध्यम वर्गको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासन बिना दिगो आर्थिक विकास सम्भव नहुने बताएका हुन्।
उनले राष्ट्र निर्माणको लक्ष्य सबैको एउटै भए पनि त्यसमा पुग्ने तरिका र सोचमा राष्ट्रिय स्वतन्त्र पार्टीको फरक दृष्टिकोण रहेको उल्लेख गरे। विगत ३० वर्षको नीति र शासकीय शैलीका कारण देशले कुशासनको ठूलो मूल्य चुकाउनुपरेको भन्दै उनले ढिलो निर्णय प्रक्रिया र नीतिगत अन्योलले अर्थतन्त्रमा ठूलो क्षति पुगेको बताए।
अर्थमन्त्री वाग्लेले ई–गभर्नेन्स, डिजिटल सेवा र कार्यसम्पादन सम्झौता केवल प्रविधिको विषय नभई राज्य सञ्चालनको संस्कार बदल्ने आधार भएको बताए। भ्रष्टाचार, विचौलिया प्रणाली र संस्थागत दोहन रोक्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। सरकारले खर्च मात्रै गर्ने होइन, प्रभावकारी सेवा दिने राज्यको अवधारणा अघि बढाएको उनले बताए।
मध्यम वर्ग विस्तारको विषय कुनै सीमित वर्गलाई सुविधा दिने योजना नभएको स्पष्ट पार्दै उनले गरिब, किसान, श्रमिक र भूमिहीन नागरिकलाई आर्थिक रूपमा माथि उठाएर मध्यम वर्ग विस्तार गर्ने लक्ष्य रहेको बताए।
उनले सरकारले गरिबी बाँड्ने होइन, सामाजिक न्यायसँगै आर्थिक उन्नति सुनिश्चित गर्न खोजेको उल्लेख गरे। साथै विगतका सरकारले लिएका दायित्वलाई वर्तमान सरकारले निरन्तरता दिने पनि उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले संविधानप्रतिको प्रतिबद्धतामा शंका नगर्न आग्रह गर्दै आवश्यक सुधार संविधानभित्रै रहेर गर्न सकिने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस