Like us!
Follow us!
Connect us!
Watch us!

न्यादीको ३० मेगावाट बिजुली कात्तिकदेखि राष्ट्रिय ग्रिडमा जोडिने

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, ०९ : ४८ मा प्रकाशित

न्यादीको ३० मेगावाट बिजुली कात्तिकदेखि राष्ट्रिय ग्रिडमा जोडिने

लमजुङको मर्स्याङ् गाउँपालिका- ६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले कात्तिकदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण पूरा भएसँगै न्यादीको बिजुली दुई महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको ९९ प्रतिशत निर्माण पूरा भएकाले तालिकाअनुसार नै विद्युत् उत्पादन सुरु हुने न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । यसअघि जेठमै उत्पादनको तयारी गरे पनि कोरोनाका कारण ढिलाइ भएको बताइएको छ ।

आयोजनाको बाँध क्षेत्र, सुरुङ तथा टनेल र पावर हाउसको निर्माण कार्य सकिएको आयोजनाका इन्जिनियर लक्ष्मीप्रसाद जोशीले बताए । अब आयोजनाको ट्रान्समिसन लाइनको काम मात्र बाँकी रहेको जोशीको भनाइ छ । उनका अनुसार हाल ट्रान्समिसन लाइनको केबल कनेक्सनको काम भइरहेको छ ।

उत्पादित विद्युत्‌का लागि प्रसारण लाइनसमेत नहुँदा परीक्षण उत्पादनसमेत रोकिएको छ । मर्स्याङ्दी करिडोरमा निर्माण हुने भनिएको २२० केभी राष्ट्रिय प्रसारण लाइन र सबस्टेसनको निर्माण कार्य ढिलो हुने भएसँगै आयोजनाले आफ्नै लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिसन लाइन निर्माण नगरेकाले वैकल्पिक रूपमा माथिल्लो मर्स्याङ्दी ‘ए’को विद्युत्‌गृहभन्दा केही तल १३२ केभी भुलभुले-मर्स्याङ्दी प्रसारण लाइनमा जोड्ने गरी आयोजनाले टारीकुनासम्म नौ किलोमिटर प्रसारण लाइन निर्माण गरी केबल कनेक्सनको काम गरिरहेको छ ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहावमा आधारित यस आयोजनाबाट वार्षिक १६८ गिगावाट/आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । ३० मेगावाटको यो आयोजना सम्पन्न गर्न छ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ । (न्यूज कारखाना)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको