Like us!
Follow us!
Connect us!
Watch us!

नेबिको बिस्कुटको उत्पादन पुनः सुरु

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १७ : ०१ मा प्रकाशित

नेबिको बिस्कुटको उत्पादन पुनः सुरु


आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । कम्पनीले बुधवार पत्रकार सम्मेलन गरी आफ्नो आगलागीबाट क्षेतिग्रस्त कम्पनी पुन : निर्माण सम्पन्न गरी  ४४ दिन पछि  उत्पादन सुरु गरिएको बताइएको छ । 

गत साउन २३ गते बालाजुस्थित उद्योगमा पूर्णरूपमा क्षति भएको नेबिकोले छोटो समयमा नै उत्पादन सुरु गरेको हो ।  कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले राम्रो व्यवस्थापनका कारण आगलागीबाट पूर्णरूपमा बन्द भएको उद्योग सञ्चालमा ल्याउन सफल भएको जानकारी दिए ।   

“आगलागीबाट भएको क्षतिसँगै हामीले ५७ वर्ष इतिहास बोकेको उद्योगलाई जोगाउनुपर्छ भनेर रातदिन नभनी काम गर्यौँ । व्यवस्थापनसँगै सम्पूर्ण कर्मचारीको साथ र सहयोगबाट नै उद्योग पुनःसञ्चालमा ल्याउन सफल भयौँ”, उनले भने । 

उनका अनुसार बुधबारदेखि उत्पादन सुरु भए पनि दुई÷तीनदिनपछि मात्र उद्योगका उत्पादन बजार पठाइने छ । आजदेखि प्लान्ट सञ्चालमा आए पनि पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ ।


विसं २०२१ मा बालाजुस्थित औधोगिक क्षेत्रमा नेपालकै पहिलो बिस्कुट उद्योगका रुरूपमा स्थापना गरिएको उद्योगमा आगलागी हुँदा भवनसँगै आवश्यक उपकरण जलेर नष्ट भएको थियो । रु १२ करोड बराबरका कच्चापदार्थ, एउटा मेसिन र एक कार्यालय भवन पूर्णरूपमा नष्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले जानकारी दिए ।  

उनका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये हाल एक मेसिनको मर्मतसम्भार गरेर सञ्चालमा ल्याइएको हो । आगलागीअघि दैनिक दुई वटा प्लान्टबाट दैनिक २० देखि २२ टन उत्पादन गर्दै आएको बालाजु प्लान्टबाट अब १६ टन हाराहारी मात्र उत्पादन हुने अनुमान गरिएको छ । उनका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये एक मेसिन पूर्णरूपमा ध्वस्त हुँदा एउटाबाट दैनिक १६ टन उत्पादन हुने अनुमान गरिएको छ ।

बालाजु प्लान्टमा आगलागीपछि बजारको मागअनुसार भैरहवामा रहेको प्लान्टलाई २४ सै घण्टा सञ्चालन गरिएको उहाँले जानकारी दिए । “आगलागीपछि हामीलाई लामो इतिहास बोकेको उद्योेगको सान जोगाउने चुनौती थपियो । आर्थिक तथा मानसिक तनावमा त थियौँ, तर हामीसँग त्योभन्दा बढी इतिहास जोगाउनुपर्ने दबाबका कारण तीन समूहलाई कार्यविभाजन गरेर कामको जिम्मा लगायौँ”, उनले भने, “एक समूह बजारको मागअनुसार दैनिक १६ घण्टा सञ्चालनमा आएको भैरहवा प्लान्टलाई २४ घण्टा सञ्चालन गर्न लागि पर्यो । फलस्वरूप हामीले भैरहवा प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरेर बजारको माग पूर्ति गर्न सफल भयौँ ।” 

सन १९६४ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो बिस्कुट उत्पादक संस्था नेविकोले बजारमा बिस्कुट, लाली पप, कुकिज बिस्कुट, कर्नफ्लेक्स, चोकोज, जस्ता नेपाली खाजाको स्वादहरू बजारमा ल्याएको छ । त्यसै गरी १ महिनाभित्रै दाङबाट पानीको उत्पादन पनि बजारमा ल्याउन लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको