Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीमा बाढीको कहर : सातको मृत्यु, एकजना बेपत्ता

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, १५ : २५ मा प्रकाशित

कर्णालीमा बाढीको कहर : सातको मृत्यु, एकजना बेपत्ता

कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको धनमाल नष्ट भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपहिरोका कारणले हुम्लामा ६ जना कालीकोटमा एकजनाको मृत्यु भएको छ । 

हुम्ला खार्पुनाथ गाउँपालिका-५ खर्पेलगाउँ ७० वर्षीय धनवीरे शाहीको घरभन्दा  माथिबाट पहिरो आई घर पुरिँदा घरभित्र रहेका ५५ वर्षीय कलबहादुर शाही (ज्वाइँ), उनकी श्रीमती ४० वर्षीया आशा शाही, छोरा १३ वर्षीय अलिन्द शाही, पाँच वर्षीय छोरा हुमेश शाही र तीन वर्षीय छोरा जसबहादुर शाहीको मृत्यु भएको हो । 

त्यस्तै, कालीकोटको महावै गाउँपालिका-७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल वर्षाका कारणमाथिबाट पहिरो आई घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ। ११ वर्षीया युनिषा अधिकारीको दाहिने खुट्टामा चोट लागेको छ । 

जुम्ला हिमा गाउँपालिका-६ बाघबजार बस्ने ३३ वर्षीया रन्ना शाही हिमा नदीले बगाएर ल्याएको दाउरा निकाल्न जाने क्रममा बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कालीकोट रास्कोट नगरपालिका-८ पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीया बाँचु न्यौपाने गोठबाट घरतर्फ फर्कने क्रममा घर नजिकै पहिरोमा परी घाइते भएका छन् । न्यौपानेको दुवै खुट्टामा चोट र उनको बाँचु न्यौपानेको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 

 १३८ पशुचौपायाको मृत्यु

कालीकोट तिलागुपा नगरपालिका-९ तिला नदीको किनार लुब्रे भन्ने स्थानमा भेडी गोठमा रहेका नाै घरपरिवारको १३० वटा भेडा बाख्रा तिला कर्णाली नदीले बगाएको छ । 

त्यस्तै, कालीकोट पचाल झरना गाउँपालिका-४ जारकोट बस्ने बिर्ख सिजुवालको गाईगोठ कल्ली खोलाबाट आएको बाढीले बगाउँदा चारवटा गाई र तीनवटा बाच्छा बगाई लगेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको