Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तरको वर्षाले पर्यटक र तीर्थयात्रीहरू अलपत्र

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ११ : १२ मा प्रकाशित

निरन्तरको वर्षाले पर्यटक र तीर्थयात्रीहरू अलपत्र

ताप्लेजङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक र पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउनेहरू वर्षाका कारण अलपत्र परेका छन् ।  चार दिनदेखि अर्थात आइतबारदेखि निरन्तर परेको वर्षाले कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकहरू साथै पाथीभार दर्शन गर्न आउने भक्तजनहरू बाटोमै अलपत्र परेका हुन् । आइतबार सुरु भएको वर्षा सोमबार दिउँसो केही समय रोकिए पनि त्यसयता वर्षा अविरल रहेको छ । निरन्तरको वर्षाले कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेर रोकिएका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै रोकिएका छन् । 

यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोलामा रोकिएका छन् । पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू माथिल्लो फेदी काफ्ले पाटी र फुङ्लिङ बजारमा रोकिएका छन् भने कोही तीर्थयाथीहरूले प्लास्टिक र छाता ओढेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासितेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा वर्षाका कारण विदेशीसहित २८ जना पर्यटक रोकिएका छन् ।  कञ्चनजंघा हिमालको आधार शिविरतर्फ जाँदै गरेका उक्त संख्यामा पर्यटकहरू वर्षाले गर्दा घुन्सामै रोकिएका शेर्पाले बताए । 

उनका अनुसार उक्त टोली सोमबार घुन्सा पुगेका हुन् । विदेशी पर्यटकमा अमेरिका, फ्रान्स लगायत देशका ११ जना रहेका छन् भने आन्तरिकमा झापा, संघीय राजधनी काठमाडौं लगायत विभिन्न जिल्लाका पर्यटकहरू छन् । त्यस्तै कञ्चनजंघा आधार शिविर गएका विदेशीसहित १६ जना पर्यटक उतै रोकिएका पनि शेर्पाले जानकारी दिए । 

उक्त पर्यटकको टोली साता दिनअघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ । यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले कुम्भकणै क्षेत्रमै रोकिएका छन् । 

यता ताप्लेजुङ र संखुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक वर्षाको कारण ओलाङ्चुङगोलामा रोकिएका छन् । ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाका अनुसार विदेशीसहितको उक्त टोली निरन्तरको वर्षाका कारण सोमबारदेखि रोकिएका हुन् । हाल तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजंघाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताए । 

अहिले वर्षासँगै हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी रहेको र तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा बस्तीसम्म नै हिउँ आइपुग्ने सम्भावना बढेको पनि शेर्पाले बताए । 

फले, घुन्सा गाउँ कञ्चनजंघा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी शुरुवात बिन्दू पर्दछ । पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको