Like us!
Follow us!
Connect us!
Watch us!

दाजुभाइले एक अर्कालाई लगाइदिए भाइटीका

अर्थ संसार

शनिबार, २० कार्तिक २०७८, २० : २९ मा प्रकाशित

दाजुभाइले एक अर्कालाई लगाइदिए भाइटीका

शनिबार तिहारको मुख्य दिन भाइटीका ।  दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन् । तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन छ । आफ्नै दिदी बहिनी नहुनेले पनि आफन्त र छरछिमेकका दिदी बहिनीसँग भाइटीका थाप्छन् ।

तर, व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिम्लिसिनाले भने एक अर्कालाई भाइटीका लगाएर मनाएका छन् । सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रिया अनुसार निधारमा सप्तरङ्गी टिका लगाएर फूलको माला गलामा पहिराइदिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए ।

आफ्नै घरमा दिदी बहिनी नभएपछि पाँच वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको मदन बताउँछन् । मदन र सुमन दुई दाजु भाइ मात्रै हुन् ।  ‘आफन्त दिदी बहिनको हातबाट टिका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नु भो । हामी टिका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजु भाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौं । त्यसपछि निरन्तर एक अर्कालाई टिका लगाएर भाइटिका मनाउँदै आइरहेका छौं’, उनले सुनाए ।

मदन र सुमनले भाइटिका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटिका लगाउने सामाजिक मान्यता थिएन । सुरुको वर्ष उनीहरू आफैंलाई पनि असहज महसुस भयो । दाजु भाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं भाइटीका’ भन्नेहरू धेरै भेटिए । तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन् । 

दिदी बहिनी नभए पनि दाजु भाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने सुमन बताउँछन् । ‘दाजु भाइले भाइटीका गर्दा सम्बन्ध पनि सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिएर भाइटिका मनाउँछौं’, उनले भने ।

पछिल्लो समय दाजुभाइ नभएका दिदी बहिनीले पनि एक आपसमा भाइटीका लगाएर मनाउन थालेका छन् । जस कारण दाजुभाइ नहुने दिदी बहिनीको तिहारमा निधार खाली हुँदैन । र मन खल्लो हुन पाउँदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको