Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी-१ निर्माणकाे काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, ०७ : ३६ मा प्रकाशित

दोर्दी-१ निर्माणकाे काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने

लमजुङको दोर्दीखोलामा निर्माणधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलिङ बेसीनमा क्षति पुगेको कम्पनीले जनाएको छ ।

आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना निर्माणको काम सकिएको आयोजना प्रबन्धक उज्वल सिलवालले बताए । उनका अनुसार विद्युतगृहको काम पनि अन्तिम चरणमा पुगेको छ ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको थियो । तर, गत असारमा आएको बाढी पसेर मेसिन हलनै ढुवानमा परेको थियो । अहिले इलेक्ट्रोमेकानिकल उपकरण सफा गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो । तर कोरोना र बाढीका कारण निर्माण अवधि पछाडि धकेलिएको छ । अब आयोजनाको सबै काम पूरा गरेर पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाको ७ सय ३५ मिटर पेनस्टक पाइपमध्ये २५ मिटर पाइप जडान हुन बाँकी रहेको प्रमुख सिलवालले बताए ।

प्रमुख सिलवालले भने आयोजना आफैले सबस्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

आयोजनाले प्रसारण लाइनको १५ वटा टावर निर्माण पनि गरीसकेको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको