Like us!
Follow us!
Connect us!
Watch us!

यो दूषित गठबन्धनको सरकार हो : नेम्वाङ

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, ०८ : २७ मा प्रकाशित

यो दूषित गठबन्धनको सरकार हो : नेम्वाङ

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको अघिल्लो सरकारको निर्णय उल्ट्याई परमादेशबाट प्रधानमन्त्री तोक्ने अदालतको फैसला र प्रधानन्यायाधीशका मानिस मन्त्री बनाउने विषयमा सरकार र गठबन्धन नाङ्गिएको बताउँदै एमाले स्थायी कमिटी सदस्य नेम्वाङले कुनै पनि प्रश्न थेग्न नसक्ने भएकाले वर्तमान सरकार दूषित र टिप्पणी गर्न लायक नरहेको बताए । 

नेकपा (एमाले) फिदिम नगरपालिका कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङले संसारमा कहीँ नभएको फैसलाले एमाले सरकारबाट बाहिरिनु परेको बताए । 'केपी ओली सरकारमा जाने सबै बाटोहरू बन्द गरेर अदालतले नयाँ सरकार गठन गरेको छ', नेम्वाङले भने, 'विश्वास मत लेउ भन्ने आँट नगरेर अदालतले मन्त्रिपरिषद्मा भाग खोज्यो ।'

सर्वोच्च अदालतले न्यायिक मन राखेमा एमालेले अदालतसमक्ष गरेका दाबी पुष्टि हुने बताउँदै नेम्वाङले दलले कारबाही गरेका सांसदबाट नयाँ पार्टी गठनलाई मान्यता दिने कदम लोकतान्त्रिक हुन नसक्ने बताए । नेम्वाङ एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) अवैधानिक भएको बताउँदै उक्त दललाई एमालेले दलको मान्यता दिन नसक्ने बताउँछन् । 

एकै पटक सदनको अन्त्य गर्ने, अध्यादेश जारी गर्ने, निर्वाचन आयोगले तत्कालै नियमावली संशोधन गर्ने तथा दल गठनका लागि केही मान्छे तयार हुने विषय केवल एमालेलाई कमजोर पार्ने योजनाका साथ अगाडि बढेको नेम्वाङको आरोप छ । 

फरक प्रसङ्गमा नेम्वाङले एमाले जनताले हराएर, संसद्मा विश्वासको मत जुटाउन नसकेर, लोकतान्त्रिक प्रणालीबाट बाहिर नभएको तर अचानक आएको अदालतको फैसलाले प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको बताए । 'अचानक आएको फैसलाले एमाले सरकार बाहिर भए पनि आगामी निर्वाचनबाट मूल ढोकाबाट सरकारमा पुग्छ', नेम्वाङले भने, 'हामीलाई सरकारमा जाने जनादेश छैन भन्ने मान्छे अदालतको फैसलाले प्रधानमन्त्री हुनुभएको छ ।'

सरकार सञ्चालनका लागि सरकारमा आबद्ध दलहरूले गठन गरेको सर्वदलीय गठबन्धनलाई संविधान र कानुनले नचिन्ने नेम्वाङले बताए । मन्त्रिपरिषद् सर्वदलीय हुनसक्ने बत्ताउँदै नेम्वाङले वर्तमान सरकार अचम्मका र बेतुकका काम गर्दै आएको टिप्पणी गरे । 

नेम्वाङले सरकारले गरेका कामका विषयमा गठबन्धन भित्रैबाट प्रश्न उठेको र सरकारका कदम टिप्पणी गर्न योग्य नभएको बताए । ८८ दिनसम्म सरकार विस्तार नहुनु, सरकारले स्पष्ट गति लिन नसक्नु तथा संसद् र सरकार कमजोर हुँदा मुलुकले इतिहासमै पहिलो पटक बजेटविहीन अवस्था बेहोर्नुपरेको बताउँदै नेम्वाङले यो अवस्था लज्जाजनक भएको बताए ।

एमालेले गरेका कामका आधारमा सम्मानका साथ छाती फुलाएर जनतामा जाने र ढुक्क साथ जनताको साथ पाउने अवस्थामा रहेको भन्दै नेम्वाङले कार्यकर्ताहरूलाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । नेम्वाङले एमालेको आसन्न महाधिवेशनले पार्टीलाई झनै सशक्त र गतिशील बनाउने बताए । 

कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य श्रीप्रसाद जवेगू, संविधानसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायतले मन्तव्य राखेका थिए । एमाले फिदिम नगरपालिका कमिटीको अधिवेशनको बन्द सत्र आजै सुरु हुने नगरपालिका कमिटी अध्यक्ष पृथ्वी लावतीले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको