Like us!
Follow us!
Connect us!
Watch us!

मोतीपुर र सन्धिखर्क सबस्टेसन पुसभित्र सञ्चालनमा आउने, निर्माण अन्तिम चरणमा

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, १४ : ४३ मा प्रकाशित

मोतीपुर र सन्धिखर्क सबस्टेसन पुसभित्र सञ्चालनमा आउने, निर्माण अन्तिम चरणमा

कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२–३३–११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम भइरहेको हो ।

सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । सबस्टेसनका सम्पूर्ण उपकरणहरको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ । पूर्व–पश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ । आयोजना अन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ ।

८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टांगिएको छ । यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । मोतीपुर–सन्धीखर्क प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत आपूर्ति गरिनेछ ।

यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । विद्युतको प्राविधिक चुहावट पनि कम हुने छ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ति जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताएका छन् । ‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प झ्याप्प बत्ति गएको भन्दै मलाई सीधै फोन गरी धेरै गुनासा आएका छन्, उपभोक्ताबाट गाली खाएका छौं । त्यसैले सबस्टेसन र प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत दिनुपर्छ ।’ उत्पादित विद्युत मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दे सबस्टेसन र प्रसारण लाइनको निर्माणपछि यस यस क्षेत्रका उद्योगहरुलाई चाहिए जति विद्युत दिन सकिने बताए ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको