Like us!
Follow us!
Connect us!
Watch us!

शेयरबजार र गलत सूचना, गलत सूचना प्रवाह गम्भीर वित्तीय कसूर

ज्योती दाहाल

पत्रपत्रिका

मंगलबार, ३० कार्तिक २०७८, ०८ : २५ मा प्रकाशित

शेयरबजार र गलत सूचना, गलत सूचना प्रवाह गम्भीर वित्तीय कसूर

मानिसको दैनिक जीवन सूचनाबाट शुरू भएर सूचनामै टुंगिन्छ । हरेक क्षेत्रमा सूचनाको महत्त्व हुन्छ । शेयरबजारमा सबैभन्दा बढी कारोबार सूचनाको हुन्छ । सूचीकृत कम्पनीले समयसमयमा सार्वजनिक गर्ने औपचारिक सूचनाबाहेक अनौपचारिक रूपमा पनि थुप्रै सूचना सार्वजनिक भइरहेको हुन्छ । औपचारिक सूचना तथ्ययुक्त हुन्छन् भने अनौपचारिक सूचनाको तथ्य स्थापित हुन पनि सक्छ, नहुन पनि सक्छ ।

यस्ता सूचना पत्रिका, टेलिभिजन, युट्युब च्यानलमार्फत आइरहेको हुन्छ । खासगरी पत्रिका (अनलाइन)ले यस्ता सूचना बढी प्रवाहित गर्छन् । सूचनाको स्रोतमा ‘विश्वस्त’, ‘विशेष’, ‘कम्पनीको उच्च स्रोत’, र ‘गोप्य’ जस्ता अनेक उपमा हुनेगर्छ । यस्ता उपमायुक्त सूत्रले वास्तविक सूचना दिएको हुन्छ वा हुँदैन । तर, यसरी लेखिने समाचारले शेयरबजारमा राम्रो कारोबार गराउँछ । शेयरबजार साधुसन्तको आश्रम नभएको हुँदा केही हदसम्म यस्ता अफवाहलाई जायज पनि मान्नुपर्ने हुन्छ । तर, अतिचार भयो भने यस्ता सूचना प्रसारकलाई कारबाही गर्नुपर्छ । अफवाहयुक्त सूचनाको प्रवाह अहिले मात्र होइन, पौराणिक कालमा पनि देख्न सकिन्छ ।

महाभारतको एउटा प्रसंग
महाभारत युद्धमा आचार्य द्रोणले सूचनाको सत्यतालाई पुष्टि गर्न नसक्दा ज्यान गुमाएका थिए । महाभारत युद्धमा द्रोण कौरवका तर्फबाट लडेका थिए । कौरव सेनाका सेनापतिसमेत बनेका द्रोण पाण्डवप्रति नरमभाव राख्थे । उनलाई युद्ध मैदानबाट नहटाएसम्म पाण्डवको विजय सम्भव थिएन । अर्जुनका सारथि बनेका श्रीकृष्णले बनाएको एक कूटनीतिक योजनाअनुसार भीमले ‘अश्वत्थामा’ नाम गरेको हात्तीलाई मारेर युद्ध भूमिमा अश्वत्थामा मारिएको हल्ला फैलाइयो । द्रोणले यस घटनाको सत्यतथ्य सत्यवादी धर्मराज युधिष्ठिरलाई सोधे । उनले ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतो हतः, अर्थात् ‘अश्वत्थामा मारिए तर हात्ती हो वा मानव म जान्दिनँ’ भन्ने कूटनीतिक जवाफ दिए । यतिबेलै श्रीकृष्णले शंखनाद गरेकाले ‘नरो वा कुञ्जरो वा’ भन्ने द्रोणले सुन्न पाएनन् । ‘अश्वत्थामा हतो हतः’ भन्ने वाक्यले उनको होश हराइसकेको थियो । यही अधुरो सूचना सुनेर द्रोण शक्तिहीन भए र धृष्टद्युम्नले उनको वध गरेका थिए ।

पहिलो अफवाह
शेयरबजारलाई छिटो पैसा कमाउने स्थलको रूपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन् । वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महीना दिन पनि नलगाई कमाउन सकिन्छ । अफवाह कस्तो कसरी चल्छ पत्तो पाउन सकिँदैन । यस्ता गतिविधिमा उच्च पदस्थकोसमेत संलग्नता हुन्छ । २१ फेब्रुअरी सन् १८१४ सोमवारको दिन बिहान लन्डन स्टक एक्सचेन्जमा नेपोलियन मारिएको झूटो समाचार फैलाएर शेयर कारोबार गरिएको थियो । छानविनको क्रममा सोमवार बेचिएका अधिकांश शेयर अघिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो । घटनामा सांसद एवम् नौसेना लर्ड थोमस कोच्रेन, उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड वट सामेल भएको पाइयो ।

कम्पनी र पत्रकार
कम्पनी र पत्रकार मिलेर पनि गलत सूचना सम्प्रेषण गराउन सक्छन् । सन् १९९९ मा ढाका स्टक एक्सचेन्जमा सूचीकृत बंगलादेश वेल्डिङ इलेक्ट्रोडस कम्पनी सञ्चालन घाटामा थियो । कम्पनीको आर्थिक स्थिति नाजुक हुँदै गएपछि बैंकको ऋण तिर्न जग्गासमेत बेच्नु परेको थियो । चुक्ता मूल्य १० टाका रहेको कम्पनीको शेयर मूल्य सन् २००६ को नोभेम्बर डिसेम्बरताका ६ टाकासम्म झरिसकेको थियो । यस्तो अवस्थामा शेयर मूल्यमा अचानक तीव्र वृद्धि आयो । तीव्रता आउनुको कारण थियो एउटा इमेल । घटनानुसार आफूलाई साउदी अरबको अल आवाद समूहको स्थानीय प्रतिनिधि बताउने एक व्यक्तिबाट कम्पनीलाई एउटा इमेल आयो । उक्त इमेलमा अल आवाद समूहले उक्त कम्पनीसँगको संयुक्त लगानीमा चिट्टगोंगमा अक्सिजन प्लान्ट स्थापनाका लागि मार्च २००७ मा स्थलगत अवलोकन गर्ने बेहोरा उल्लेख थियो । कम्पनीका प्रबन्ध सञ्चालक नुरुल इस्लामले तत्काल उक्त सूचना ढाका स्टक एक्सचेन्जमार्फत सार्वजनिक गरे । सूचना सार्वजनिक हुनासाथ शेयर मूल्यमा तीव्र वृद्धि आयो । शेयर मूल्यमा आएको तीव्र वृद्धिलाई स्वाभाविक रूपमा लिने अवस्था नभएकोले एक्सचेन्जले प्रारम्भिक छानविन शुरू गर्दा उक्त इमेल फर्जी भएको पोल खुलेको थियो । इमेल पठाउने व्यक्ति विक्ली इन्डस्ट्री (हाल डेली इन्डस्ट्री) का सम्पादक इनायत करिम भएको पत्तो लाग्यो । करिमले इमेल पठाउनुअघि डिसेम्बर २००६ देखि फ्रेबुअरी २००७ सम्मको अवधिमा २० हजार ५ सय कित्ता शेयर ६ देखि ७ टाकासम्म किनेका थिए । उक्त शेयर सोही वर्षको फ्रेबुअरीमा ३३ देखि ४६ टाकासम्ममा बेचिएको थियो ।

करिमलाई फर्जी इमेल लेखाउन कम्पनीका प्रबन्ध सञ्चालक नुरुल इस्लाम र उच्चतहका अधिकारीको पनि संलग्नता भेटिएको थियो । साउदी कम्पनीको आगमन हुने सूचना ११ फेब्रुअरी २००७ मा सार्वजनिक भएको थियो । यस विषयमा विस्तृत छानविन गरेको बंगलादेश सेक्युरिटीज एक्सचेन्ज कमिशनले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराएर मूल्य हेरफेर गरेको भन्दै ढाका मजिस्ट्रेटसमक्ष मुद्दा दायर गर्‍यो । सन् २०१२ मा गठित क्यापिटल मार्केट ट्राइबुनले यस मुद्दाको सुनुवाइ गर्दै इस्लाम र करिम दुवैलाई ३ वर्षको जेलसजाय र २० लाख टाका जरीवानाको फैसला सुनाएको थियो ।

नेपाल सन्दर्भ
विश्वव्यापी समस्या बनेको शेयरबजारमा अफवाह फैलाएर हुने कारोबारमा नेपाल पनि अछुतो हुने कुरै भएन । यस्ता कार्यमा सबैभन्दा बढी अनलाइन न्यूज पोर्टल, फेसबुकका समूह, युट्युब च्यानल, भर्खरै आएको क्लब हाउस बढी सक्रिय छन् भन्दा अत्युक्ति हुँदैन । यस्ता अनलाइनलगायत सूचनाका माध्यम अफवाहका लागि बढी उपयोग भइरहेको अनुमान लाउन सकिन्छ । आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति वाचन नसकिँदै एउटा अनलाइनले मार्जिन प्रकारको कर्जामा जाने कर्जाको दर ५० प्रतिशतबाट ४० प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गरेको केही मिनेटमै हटाएको थियो र समाचार पढेपछि कर्जा घट्ने चिन्ताले कर्जा लिएर लगानी गरेकाले धमाधम शेयर बेचे । यो घटना ‘नेपोलियन मारिए’ भनेर गरिएको प्रचारजस्तै थियो । त्यस्तै, हकप्रदलाई विषय बनाएर लेखिने अफवाह समाचार पनि राम्रोसँग बिक्छ । नेपाल पुनर्बीमा कम्पनीले गराएको रेटिङलाई हकप्रदसँग जोडेर ‘हकप्रद जारी गर्न रेटिङ गरायो’ भन्ने समाचार सम्प्रेषण भएको थियो । रेटिङ प्रतिवेदनमा यस्तो विषय कतै पनि थिएन र कम्पनीको त्यस्तो उद्देश्य पनि थिएन ।

समाचार वा सूचनाको सत्यता पुष्टि गर्ने जिम्मा केही हदसम्म सूचना पाउनेको पनि हुन्छ । सबै सूचनाको सत्यता पुष्टि गर्न सकिन्न । द्रोणले जस्तो एउटा वाक्य सुनेर हताश र उत्साहित पनि हुनु हुँदैन । द्रोणले आफ्नो पुत्रलाई भीमले मार्नसक्छन कि सक्दैनन् भन्ने कुराको ख्याल गर्न सकेनन् र हताश मनस्थितिमा पुगे । शेयरबजारमा हताश र उत्साहित दुवै मनस्थिति घातक हुनसक्छ । बंगलादेशको जस्तो परिस्थितिमा कम्पनीले नै एक्सचेन्जलाई दिएको सूचनालाई अन्यथा भन्न पनि सकिँदैन, तैपनि केहीहदसम्म परीक्षण गर्न सकिन्छ । ‘बारबारे तिल जोगिन्छ’ भन्ने पुरानो भनाइलाई आत्मसात गरेमा शेयरबजारमा आउने अफवाहयुक्त सूचनाबाट धन जोगाउन सकिन्छ । नियामकीय निकायले पनि यस्ता अफवाह फैलाउनेलाई निगरानीमा राखी आवश्यक कारबाही गर्न पछि पर्न हुँदैन ।

आर्थिक अभियान दैनिकमा ज्योती दाहालले लेखेकाछन् । (लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको