Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन

पत्रपत्रिका

सोमबार, २० मंसिर २०७८, ०६ : ५२ मा प्रकाशित

पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले चालू आवको कात्तिक मसान्तसम्म रू. ४८ अर्ब ३२ करोड ८६ लाख कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा व्यवसाय २३ दशमलव २२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १९ जीवन बीमा कम्पनीले रू. ३९ अर्ब २२ करोड बीमाशुल्क संकलन गरेका थिए ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन भने रू. १२ अर्ब ६९ करोड ५५ लाख रहेको छ । यसैगरी नवीकरण बीमाशुल्क रू. ३५ अर्ब ७ करोड ९२ लाख र वैदेशिक रोजगार बीमाशुल्क रू. ५५ करोड ३९ लाख संकलन भएको छ ।

बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । कम्पनीले समीक्षा अवधिमा रू. १२ अर्ब ५५ करोड ३५ लाख बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआईसीले रू. ६ अर्ब ५८ करोड ८० लाख बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले रू. ४ अर्ब ७८ करोड ६५ लाख बीमाशुल्क संकलन गरेको छ ।

बीमा कम्पनीहरू पहिलो चौमासको व्यवसायबाट सन्तुष्ट छैनन् । कम्पनीहरू व्यवसाय वृद्धिदरमा सन्तोष नभएका हुन् । प्राइम लाइफ इन्स्योरेन्सका सीईओ मनोज भट्टराईले पहिलो चौमासको व्यवसाय उत्साहजनक नभएको बताए । पछिल्लो समय बीमाप्रति आम मानिसको आकर्षण नै कम देखिएको उनको भनाइ छ ।

‘कोरोनाको दोस्रो लहरपछि बीमाप्रति आर्कषण घटेको छ । कोरोनाको दोस्रो लहरमा आम मानिसमा ठूलो त्रास थियो । फलस्वरूप उनीहरूले आर्थिक सुरक्षणकोे लागि बीमा गर्न थालेका थिए,’ उनले भने, ‘तर, दोस्रो लहरपछि आम मानिसहरूले कोरोनालाई सामान्य रूपमा लिन थाले । भ्याक्सिन पनि आइसकेकाले बाचिन्छ भन्ने आशा पनि भयो । त्यसपछि बीमाप्रति त्यति चासो देखाएका छैनन् ।’ कोरोना बीमाको दाबी भुक्तानी नहुँदा पनि बीमाप्रति सर्वसाधारणको आकर्षण घटेको उनको भनाइ छ । ‘कोरोना बीमामा ९/१० अर्ब भुक्तानी हुन सकेको छैन । त्यसको असरले आम मानिसमा बीमाप्रति नकारात्मक भाव पैदा भएको छ,’ उनले भने, ‘त्यसको असरले पनि आम मानिसहरू बीमाप्रति त्यति आकर्षित छैनन् ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको