Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डको विज्ञप्ति देखि राष्ट्र बैंकको भनाइ सम्म, आजको आर्थिक समाचार एकै ठाउँ (भिडियो सहित )

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, २१ : २७ मा प्रकाशित

आज (पाैष १ गते, बिहीबार) दिनभरका मुख्य आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, ७.७ प्रतिशत बोनस दिने

सेन्ट्रल फाइनान्सले लाभांश घाेषणा गरेकाे छ । कम्पनीको हिजो मंसिर २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. लाभांश पारित गर्न ज्योति विकास बैंकले डाक्याे साधारण सभा, पौष ९ गते बुकक्लाेज

ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको हिजाे मंसिर २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २३ गते, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. झुटो प्रचारबाट भ्रमित नहुन प्रचण्डको आग्रह, भन्छन् "पार्टी र म लाखौं लगानीकर्ताको पक्षमा छौँ"

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । उनले ओलीलाई माक्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि बताएका छन् । ‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु,’ उनले भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’
 
४. रसुवागढी हाइड्रोले डाक्यो साधारण सभा, पाैष १२ गते बुकक्लाेज

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पाैष १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको नवाैँ वार्षिक साधारण सभा पौष २६ गते साेमबार, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडकाे सभाहल, महाराजगञ्ज, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । सभामा वार्षिक प्रतिवेदनहरू पारित गर्ने लेखापरिक्षक नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १२ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

५. खप्तड लघुवित्तले डाक्याे साधारण सभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे मंसिर २६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दाेश्राे वार्षिक साधारण सभा पौष २४ गते शनिबार, होटल नमस्ते, अत्तरीयामा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । संस्थाले सर्वसाधारणका  लागि १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न संस्थाले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

६. रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेकाे छ । नेप्से १.५७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको छ । कूल २२४ वटा कम्पनीकाे ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । आज प्रभु बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ९ कराेड ४३ लाख १९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बिहीबार नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ५४ रूपैयाँ ६० पैसा पुगेकाे छ । आज ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.५९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ६५ रूपैयाँमा झरेकाे छ ।

७. खानी खोला हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, पाैष ९ गतेदेखि बुकक्लाेज

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले एकैचोटी ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो मंसिर २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सातौँ, आठौँ र नवौँ वार्षिक साधारण सभा पौष ३० गते, हुनेछ । सभामा ३ वटा आर्थिक वर्षकाे प्रतिवेदनहरू पारित गर्ने, लेखापरिक्षक नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष ३० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

८. नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, थपियाे १ करोड ७३ लाख कित्ता सेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार सिटिजन्स बैंक लिमिटेडकाे १२.९१३ प्रतिशत बाेनस बापतकाे एक कराेड ६२ लाख ४० हजार ५ सय ८ दशमलव ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । त्यसैगरी, सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ११ प्रतिशत बाेनस बापतकाे ११ लाख एक हजार ३ सय ४५ दशमलव २९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

९. राष्ट्र बैंकका प्रवक्ता भन्छन्, "अर्थतन्त्रमा चुनौती नभएका होइनन् तर अहिलेनै आतिनु पर्ने अवस्था छैन"

मुलुकको आर्थिक स्थितिमा गम्भीर संकट आइसकेको भन्दै सर्वत्र चर्चा भईरहँदा नेपाल राष्ट्र बैंकका नवनियुक्त  प्रवक्ता डा. गुणाकर भट्टले परिस्थिति सामान्य नभए पनि असामान्य पनि नभएको भन्दै अर्थतन्त्रले छिट्टै लय समात्ने जिकिर गरेका छन् ।  अर्थसंसार सँग कुरा गर्दै डा भट्टले भने, 'अहिले केही असहज परिस्थिति हो तर बाहिर प्रचार भएजस्तो चाहीँ होइन।   सरकारले पर्याप्त मात्रामा पूँजीगत खर्च गर्न नसक्दा समस्या झन् बढेर गएको छ ।  अर्को कुरा अघिल्लो वर्षको भन्दा रेमिट्यान्स घटेको तथ्याङ्क आएको छ।"  पूँजीगत खर्च बढ्दै जाँदा वातावरण पनि सहज हुँदै जाने उनले बताएका छन् ।

१०. समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति

समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । फाइनान्सले १ः०.५० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्कासन गर्न बोर्डबाट हिजाे मंसिर २९ गते अनुमति पाएको हो । फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। 

११. ७ सयले बढ्याे सुनकाे भाउ, २५ रूपैयाँले बढ्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा ७ सय रूपैयाँले बढेर प्रतिताेला ९३ हजार रुपैयाँ कायम भएको छ । अाज चाँदीकाे मूल्य पनि ताेलामा २५ रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ३५ रूपैयाँमा काराेबार भएकाे नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको