Like us!
Follow us!
Connect us!
Watch us!

चलमलाउँदै चितवनकाे व्यापारिक गतिविधी, पुसभर मेला महोत्सव

अर्थ संसार

शनिबार, ०३ पुस २०७८, १५ : ११ मा प्रकाशित

चलमलाउँदै चितवनकाे व्यापारिक गतिविधी, पुसभर मेला महोत्सव

मंसिरलाई विवाहको महिनाका रुपमा लिएजस्तै याे वर्ष चिनवत पुसभर मेला महोत्सवमय बन्ने भएकाे छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् । 

चितवन उद्योग संघको आयोजनामा शुक्रबारदेखि छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन् ।

४ पुससम्म चल्ने प्रदर्शनीमा भारतीय ५० सहित दुई सय वटा स्टल रहेका छन् । उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीलाई प्रदर्शनी फलदायी हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।

पूर्वी चितवनकोे राप्तीमा पहिलो पटक गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रालिको आयोजनामा १४–२४ पुससम्म हुने महोत्सवमा सय वटा स्टल रहने आयोजकले जनाएको छ । ‘कोरोनाका कारण थलिएको व्यवसाय प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो,’ आयोजक गड्यौली भिलेज प्रालिका निर्देशक गणेश लामाले भने, ‘महोत्सवमा कृषि, पर्यटन र व्यवसायलाई प्राथमिकता दिन्छौँ ।’

करिब ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ८० रुपैयाँ र विद्यार्थीलाई ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव २५ पुसदेखि ५ माघसम्म गर्ने भएको छ । गतवर्ष नै हुनुपर्ने महोत्सव कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको तयारी तीव्र बनाइएको छ ।

महोत्सवमा करिब चार सय वटा स्टल रहने उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए । कोरोना महामारीका कारण थला परेका उद्योग व्यवसायलाई उकास्न र यहाँको आर्थिक गतिविधि चलायनमान बनाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको उनी बताउँछन् ।

रत्ननगर उद्योग वाणिज्य संघले पनि पुसमै महोत्सव गर्ने भएको छ । ११औँ संस्करणका रत्ननगर महोत्सव २७ पुसदेखि ८ माघसम्म आयोजना गर्न लागेएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा तीन सय ५० वटा स्टल हुने छन् । पाँच लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरेकाे उनको भनाइ छ ।

‘विशेषगरी कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि हामीले महोत्सव गर्न लागेका हौँ,’ उनले भने, ‘गत वर्ष कोरोना महामारीमा धेरै मानिस घरमै बस्नु परेकाले यसपटक महोत्सवमा धेरैले अवलोकन गर्ने अपेक्षा छ । स्टलहरू पनि ७० प्रतिशत बुकिङ भइसकेका छन् ।’

चितवन महोत्सव र रत्ननगर महोत्सव हरेक दुई वर्षमा एकपटक हुने गर्छन् । चितवन महोत्सव बिजोर वर्षमा र रत्ननगर महोत्सव जोर वर्षमा हुँदै आएका थिए । गतवर्ष महोत्सव गर्न नपाएको उवासंघ चितवन यसपटक गर्न चाहन्छ । एउटै उद्देश्यका दुई ठूला महोत्सव यस वर्ष एकै समयमा हुन लागेका छन् । चितवन महोत्सव आगामी वर्ष पनि हुनेछ ।

दुवै महोत्सवको उद्देश्य ‘चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई बढोत्तरी गराउने र स्थानीय उत्पादनका प्रदर्शनीलाई प्राथमिकता दिने हो । यसपटक एकैचोटी महोत्सव गराउने विषयमा दुई संस्थाबीच सहमति भइसकेको छ ।

चितवनकै कालिका नगरपालिकामा पनि पहिलोपटक पदमपुर पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव भएको छ । २३ मंसिरदेखि सुरू भएको महोत्सव ४ पुससम्म चल्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको