Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनको निर्माण कार्य रोकियो

अर्थ संसार

आइतबार, ११ पुस २०७८, ०८ : २९ मा प्रकाशित

राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनको निर्माण कार्य रोकियो

राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनको निर्माण कार्य रोकिएको छ । आयोजनामा काम गर्दै आएका मजदुरहरूले जिल्ला दर रेटभन्दा कम पारिश्रमिक दिएकाले विरोध गर्दै शुक्रबारबाट निर्माण कार्य रोकेका हुन् ।

आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले जिल्ला दर रेटभन्दा कम पारिश्रमिक दिएकाले विरोध गर्दै मजदुरले सम्पूर्ण काम अनिश्चितकालका लागि ठप्प गरेका छन् । मजदुरहरूले आयोजनाले दिएको तलब सेवा सुविधा अत्यन्तै न्यून रहकाले उक्त तलबले आफू र परिवार धान्न कठिन भएको भन्दै जिल्ला दर रेटअनुसार पारिश्रमिक दिन माग गरेका छन् ।

आन्दोलित मजदुरहरूले शनिवार आयोजनाको निर्माण कम्पनीलाई ज्ञापन पत्र बुझाउँदै जिल्ला दर रेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभर टाइम हुनुपर्ने, चाडपर्व, सरकारी विदाको ओभर टाइम हुनुपर्ने, दशैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित नर्मल हाजिरी हुनुपर्ने लगायतका माग गरेका छन् । आफूहरुको माग पुरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनीहरुको अडान छ ।

सुनकोसी मरिन डाइभर्सनमा काम गर्दै आएका लेबरले अहिले ८ घण्टा समय काम गरे बापत दैनिक सुख्खा ५ सय ८० रुपैयाँ र मिस्त्रीले सात सय ३५ रुपैयाँका दरले पाउँदै आएको एक मजदुरले बताए । आयोजनामा अहिले लेबर १ सय १० जना मिस्त्री ५० जना, मेकानिक ८ जना, अपरेटर २० जना, वेल्डर ७ जना, दोभासे ४ जना, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३ सय २० जना मजदुर कार्यरत रहेका चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीका प्रशासन प्रमुख मिस्टर लूले जानकारी दिए । सुनकोसी मरिन डाईभर्सन अन्तर्राष्ट्रिय आयोजना भएकाले केन्द्रीय सरकारको दररेट अनुसार मजदुरहरूलाई ज्याला दिँदै आएको उनको भनाइ छ ।

सरकारले सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङलाई दिएको छ । यो आयोजनाका लागि सुनकोसीबाट कमलामाई नगरपालिका-२ कुसुम टारसम्म १३ दशमलव ३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।

तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिन खोलामा खसालिने छ । मरिनको पानी बागमतीमा पुग्नेछ र बागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन सकिने छ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिने छ । मरिणमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिसेकेन्ड पानी मरिनमा झर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको