Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा,बजार घट्दा दिपेन्द्र अग्रवाल पनि डुबे (भिडियो)

अर्थ संसार

विहीबार, १५ पुस २०७८, २२ : ०५ मा प्रकाशित

आज (पौष १५ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. नेप्सेमा मञ्जुश्री फाइनान्ससहित ५ कम्पनीको सेयरमूल्य समायोजन

आज (पौष १५ गते, बिहीबार) नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा विभिन्न ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको सेयरमूल्य समायोजन भएको हाे । मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ७० रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९ सय ३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । चिलिमे जलविद्युत् कम्पनीको ७.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६७ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय २ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ७ रूपैयाँ ७५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ११ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ३७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८५३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६५ रूपैयाँ ३४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

२. धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा : यसअघि आवेदन दिएका १२ जनाले फेरि आवेदन दिनुपर्ने

सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको छ । अर्थात् ११ कात्तिकको विज्ञापन अनुसार अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए पनि छनोट तथा सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम छनोट गरेर सरकारलाई सिफारिस गर्न नसकेपछि फेरि नयाँ विज्ञापन खोलिएको छ । छनोट समितिले बिहीबार सार्वजनिक सूचना जारी गरेर २९ पुसभित्र आवेदन दिन आह्वान गरेको छ । साथै यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन भनिएको छ । 

३. सप्तकोशी बैंक घोटला प्रकरण : सिईओसहित थप दुईजना कर्मचारी पक्राउ

सप्तकोशी डेभलपमेन्ट बैंकको घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नविन सुवेदी पक्राउ परेका छन् । सिईओ सुवेदीलाई बुधबार साझ मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको रेमिटेन्सको १६ करोड रकम हिनामिना गरेको आरोप उनीहहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बताए । बैंकबाट गायव रकममध्ये अधिकांश रकम सिइओकै आफन्तको खातामा रहेको पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बैंकको नाफा बापतको १६ करोड रुपैयाँ आफन्तको नाममा बैंककै कर्मचारीले निकालेको खुलेको स्रोतले जनाएको छ । विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख रहेका हिमाल भट्टराई रकम हिनामिना गरेको आरोपमा यस अघिनै पक्राउ परिसकेका छन् । बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो ।

४. आज सार्वजनिक बिदा : सेयर बजार बन्द

सरकारले तमु ल्होसारको अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिएको थियाे । सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै सेयर बजार पनि बन्द भएकाे थियाे । हिजाे बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेकाे थियाे । नेप्से ०.२२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ । कूल २२८ वटा कम्पनीकाे ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे । अब एकैचाेटी आगामी साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजार खुल्नेछ ।

५. ठूला लगानीकर्ता दिपेन्द्र अग्रवाल भन्छन्, "बजार घट्दा म पनि डुबेको छु"

सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले बजार घट्दा आफू पनि डुबेकाे बताएका छन् । अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्ने क्रममा सामाजिक सञ्जालमा उनले भनेका कम्पनीहरू किन्दा लगानीकर्ताहरू डुबे नी भन्ने प्रश्नमा उनले उनले बजार घट्दा काेही नबच्ने र आफू पनि डुबेकाे बताएका हुन् । उनले भने, "बजार घट्दा कोही पनि बच्दैन, टाइटानिक जहाज जब डुबेको थियो त्यतिबेला को बचेको थियो सबै डुबे नी पैसावाला पनि डुबे, गरिब पनि डुबे, मजदुर पनि डुबे । मार्केट घट्दा पनि तपाईँ हामी बच्छौँ र अरू डुब्ने हुँदैन । म पनि डुबेको छु र हाम्रा लगानीकर्ताहरू पनि डुबेका छन् । कुनै पनि एउटा सेक्टर छैन जुन सेक्टरमा लगानीकर्ताहरूले घाटा खाएका छैनन् । बजार घट्दा समग्रमा सबैलाई घाटा भएको छ ।" 

६. सुनको भाउ घट्ने क्रम जारी, चाँदी पनि घट्याे

बिहीबार सुनकाे मूल्य ताेलामा ४ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार एक सय रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ४५ रूपैयाँ कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको