Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारको केहि समाचार छुट्यो कि ?

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, २३ : २९ मा प्रकाशित

आज (पाैष २६ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. मंगलबार एकैदिन ४ वटा सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट  सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेका छन् । एउटा वाणिज्य बैंक र ३ वटा लघुवित्तले लाभांश घाेषणा गरेका हुन् । जस अनुसार कृषि विकास बैंक लिमिटेडले २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २.५ प्रतिशत नगद वितरण गर्ने घाेषणा गरेका हुन् ।

२. मंगलबार नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम भने ७ अर्ब नाघेकाे छ । आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा झरेकाे छ । नेप्से ०.९७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७५ अंकले घटेर ४१९.१६ विन्दुमा झरेको छ । कूल २५४ वटा कम्पनीकाे २ कराेड ८ लाख ४३ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५ सय ७९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

३. सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा स्थानियले छिटोमा माघ १९ गतेसम्म र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ १९ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । 

४. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले सेयर बजार मार्फत नयाँ सरकारलाई विश्वासको संकेत देखाएको दावी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रचण्डले नयाँ सरकार गठनपछि जसरी सेयर बजारमा सकारात्मकता देखिएको छ त्यसलाई आफूले जनताले नयाँ सरकारप्रति जनताले देखाएको विश्वासको संकेतका रुपमा लिएकाे  बताएका हुन् ।

५. प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी आज पाैष २६ गते, मंगलबारबाट एकिकृत काराेबार सुरू गरेकाे छ । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेकाे हाे । प्राप्ति पश्चात् बैंकको नाम प्रभु बैंक लिमिटेड र बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहने भएकाे छ ।

६. एनएमबी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो । बैंकको वार्षिक साधारण सभाले पारित गरेको करसहित ८.२५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा बैंकले आजैबाट जम्मा गर्न सुरू गरेकाे छ । 

७. बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले १६ अर्बको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा मागभन्दा बढीका लागि आवेदन पर्नुका साथै ब्याजदर पनि न्यूनतम विन्दुमा झरेको हो । सोमवार जारी  ट्रेजरीको ब्याजदर ७ दशमलव ९३ प्रतिशत कायम भएको छ ।

८.  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।दुवै संस्थाले लाभांश प्रस्ताव गरेकाे जानकारी नेप्सेमा काराेबार समयमा गराएकाे भन्दै नेप्सेले सेयर मूल्यमा प्रभाव पार्न खाेजेकाे आरोपमा कारोबार रोक्का गरेको हो । नेप्सेले के कति कारणले  समयमानै जानकारी नदिएको हो ३ कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

९. एनआईसी एशिया लघुवित्त र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएका छन् । बाह्य लेखा परीक्षण नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको प्रक्रियामा रहेको हुँदा दुवै संस्थाको वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने भएकाे हाे । दुवै संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्रसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१०.  मंगलबार सुनकाे भाउ तोलामा ४ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको