Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडीसीएलले २६ वटा जलविद्युतमा १९ अर्ब ५४ करोड लगानी गर्ने, ३ ब्रोकर कम्पनीलाई कारबाही

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १६ : ५० मा प्रकाशित

आज (पाैष २७ गते, बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. नेपाल धितोपत्र बोर्डले ३ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ। बोर्डले नियम पालना नगर्ने तीनवटा ब्रोकर कम्पनीलाई कारबाही गरेको हो। सनी रेक्युरिटिज र इम्पेरियल सेक्युरिटिजलाई समयमा प्रतिवेदन पेश नगरेको भन्दै १० हजार जरिवाना गरिएको छ भने त्रिसुल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना तोकिएको हो । त्यस्तै केयर रेटिङ नेपाललाई क्रेडिट रेटिङले आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेश गर्न सूचीत समेत गरिएको छ। 

२. अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड बीचको मर्जर भाँडिएकाे छ । प्रभु र अजोडका बीचमा १००ः७० को अनुपातमा सेयर आदान–प्रदान हुने गरी यही असार ३२ गते मर्जर सम्झौता भएको थियाे । तर अहिले एकाएक यी कम्पनीकाे मर्जर भाँडिएकाे छ । दुई कम्पनीका सञ्चालकहरुबीच कुरा नमिलेपछि मंगलबार डिमर्जरको सम्झौता भएको हो । प्रभु इन्स्याेरेन्ससँग मर्जर तोडिएसँगै अजोड इन्स्योरेन्सले रातारात युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता समेत गरिसकेको छ । 

३. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आज पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू भएकाे हाे । यी बैंक १००:९० को सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । मर्जर पछि सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहेका छन् ।

४. माउन्टेन ईनर्जी कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश मंसिर २६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा क्रमश जम्मा गरिरहेको छ । 

५. पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिने भएकाे छ । नेपाल आयल  निगमको ५३औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुु मरासिनीले स्वचालित मूल्य प्रणाली लागू नहुुँदा निगमको वित्तीय अवस्था कमजोर हुुँदै गएकाले अब पूर्ण रूपमा लागू गरिने बताए । अन्तर्राष्ट्रिय बजारमा सन् २०२३ मा कच्चा तेलको मूल्य घट्ने देखिएकाले पनि स्वचालित मूल्य लागू गर्न सहज हुने उनकाे तर्क छ ।

६. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । स्टकका अनुसार कम्पनीकाे ६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय रूपैयाँ २८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ५ सय ३० रूपैयाँ ३० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

७. थप ३ सूचीकृत कम्पनीले पाैषमा साधारण सभा गर्न नसक्ने भएका छन् । नेष्डाे समृद्ध लघुवित्त, नेरूडे लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएका छन् । यी ३ वटै कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

८. अर्बपति इलन मस्क गिनिज विश्व रेकर्डमा दर्ता भएका छन् । नेटवर्थमा सबैभन्दा धेरै गिरावट भोग्ने व्यक्तिका रुपमा मस्क गिनिज विश्व रेकर्डमा दर्ता भएको CNBC ले उल्लेख गरेको छ । सन् २०२२ मस्कका लागि निकै निराशाजनक वर्ष सावित भएको छ । साे वर्ष मस्कको सम्पतिमा १ खर्ब ८२ अर्ब अमेरिकी डलर गिरावट आएको छ । सम्पतिमा यति ठूलो गिरावट भोग्ने मस्क नै पहिलो व्यक्ति हुन् ।

९. हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट तथा डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले २६ वटा जलविद्युतमा १९ अर्ब ५४ करोड लगानी गर्ने भएकाे छ । कम्पनीले हालसम्म १९ अर्ब ५४ करोड रुपैयाँ लगानी बराबरको ऋण तथा सेयर लगानी स्वीकृत गरेको छ । २८ सय ११ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजनाका लागि लगानी स्वीकृत गरिएको हो। स्वीकृत भएको कुल रकममध्ये १० अर्ब १९ करोड रुपैयाँ लगानीको भुक्तानी गरिसकेको छ । 
१०. बुधबार सुनकाे मूल्य ताेलामा ३ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ भने स्थिर रही प्रतिताेला १३ सय ६५ रुपैयाँ कायम रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको