Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन, लाभांश वितरण नगर्ने

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १७ : ४७ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन, लाभांश वितरण नगर्ने

आज (पाैष २१ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. सेयर बजारमा राैनकता कायमै छ । आज (बिहीबार) नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ५ महिनापछि ५ अर्ब नाघेको छ । बिहीबार नेप्से परिसूचक १७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेकाे छ । नेप्से ०.८४ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६१ अंकले बढेर ४११.३३ विन्दुमा पुगेकाे छ । कूल २५९ वटा कम्पनीकाे एक कराेड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

२. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन आदेश दिएका छन् । प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन् ।

३. रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीकाे पाैष २० गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । 

४. ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे । यी दुई बैंक १ः१ स्वाप अनुपातमा मर्ज भएका हुन् ।

५. नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुने मिति तोकेको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन गर्दै चालु आर्थिक वर्ष सुरु भएको एक साता भित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेकाे छ । जसअनुसार अब साउन ७ गतेभित्र मौद्रिक नीति सार्वजनिक गरि सक्नुपर्नेछ ।

६. कालिन्चोक दर्शन लिमिटेडले पहिलो चरणमा निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता र आयोजना प्रभावित स्थानीयका लागि १ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । १२ हजार स्थानीयलाई हालको गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले बाँडफाँड गरिएकाे छ । यस्तै, ६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीबाट रीतपूर्वक आवेदन प्राप्त गरी सबै आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ ।

७. सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेकाे छ । आज बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गर्दै  अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याएको हाे ।

८. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने जानकारी गराएकाे छ ।संस्थाको बाह्य लेखा परीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा संस्थाको वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने भएकाे हाे । संस्थाले चैत्रसम्म वार्षिक साधारण सभा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

९.  एभरेष्ट बैंक लिमिटेडकाे अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएकाे छ । बैंककाे ४ लाख कित्ता अग्राधिकार सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी साधारण सेयरमा परिणत भएकाे हाे ।

१०. यतिबेला विश्वका ९० राष्ट्रहरूकाे सेयर बजार नियाल्दा ७२ वटा राष्ट्रहरूकाे परिसूचक सकारात्मक देखिएकाे छ । अहिले विश्व अर्थतन्त्र २०२३ मा आउने भनिएको विश्व अर्थतन्त्रको मन्दिले त्रसित देखिन्छ। यसैकाबीच २०२३ काे पहिलाे साता ७२ राष्ट्रकाे परिसूचक सकारात्मक देखिएकाे हाे । यही ९० वटा राष्ट्रहरूकाे सेयर बजारकाे मासिक तथ्याङ्क हेर्दा ५० वटा राष्ट्रकाे इन्डेक्समा गिरावट आएको देखिएको थियो। 

११. बिहीबार सुनकाे भाउ ताेलामा २ सय रुपैयाँले बढेर  प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको