Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताको लागि यसरी बन्यो आजको दिन शुभदिन (भिडियो )

अर्थ संसार

बुधबार, २० पुस २०७९, २२ : ५४ मा प्रकाशित

आज दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीबीच अर्थतन्त्र सुधारका लागि विशेष छलफल भएकाे छ । छलफलकाे क्रममा ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधार गर्न प्रधानमन्त्री प्रचण्डले जोड दिएका छन्  । प्रचण्डले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न र अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न निर्देशन दिएका छन् ।  

२. नेपाल राष्ट्र बैंकले ब्याजदरलाई केही संसोधन गर्ने तयारी गरेको छ । केहि साता अघिसम्म पनि कुनै संसोधनका लागि तयार नदेखिएका गर्भनर महाप्रसाद अधिकारीले नयाँ सरकार गठनसँगै केही नितीगत संसोधनको संकेत दिएका छन् । राष्ट्र बैंक ब्यवसायीहरुको माग सम्बोधन गर्न तयार देखिएपछि आन्दोलनरत व्यवसायीहरुले पनि आफ्नो आन्दोलन स्थगित गरेका छन् ।

३. श्रीलङ्काको अर्थतन्त्र सुधारकाे गतीमा लम्किएकाे छ । आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधारले देशको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्नेछ ।

४. नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरिएकाे हाे । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गर्दै चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरिएकाे जानकारी दिएकाे थियाे । याे सँगै अब राष्ट्र बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक काराेबारकाे आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

५. सबैतिरबाट गुड न्यूज आउँदा सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । बुधबार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेकाे छ । नेप्से ३.१५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १४.०९ अंकले बढेर ४०८.७२ विन्दुमा पुगेकाे छ । कूल २५८ वटा कम्पनीकाे ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

६. निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्षको संचित मुनाफबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट  पारित गरी सेयरधनीहरुलाई वितरण गरिने  छ। 

७. बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९७ हजार कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे हाे । आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिएको छ ।

८. हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएकाे छ । कम्पनीले चुक्ता पुँजीको १:०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न यही असाेज २ गते पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियाे । विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ बमोजिम विभिन्न शर्तहरु पालना गर्ने गरी सहमति प्रदान गरिएको  हाे ।

९. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार संस्थाकाे २० प्रतिशत बाेनस बापतकाे २३ लाख १२ हजार ४ सय ९७ दशमलव २२१४ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

१०. बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतिताेला १४ सय रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको