Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारको सबै समाचार एकै ठाउँ

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, २३ : ०५ मा प्रकाशित

आज (पाैष १९ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. प्रुडेन्शियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भई र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि  लगानीकर्तामा वितरण हुनेछ ।

२. मोलुङ्ग हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक राेजगारीमा गएका नेपालीहरूका लागि आईपीओ खुल्ला गरेको छ । कम्पनीले स्थानियलाइ ८ लाख २ हजार ५ सय कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।आईपीओमा माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ। स्थानीयले भने याे अवधिमा बिक्री नभए माघ १८ गतेसम्म भर्न पाउनेछन् ।

३. आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेकाे छ । नेप्से ०.१५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ३९४.६२ विन्दुमा झरेको छ । कूल २५७ वटा कम्पनीकाे ८२ लाख २२ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

४. स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच हिजाे (पाैष १८ गते, साेमबार) मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हाे । याे सँगै नेप्सेमा दुवै संस्थाको आधारभूत शेयरधनीहरुको सेयर कारोबार रोक्का राखिएकाे छ ।

५. प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्विकृती प्रदान गरेकाे छ ।  दुवै बैंकको यही पाैष १४ गते सम्पन्न भएकाे साधारण सभामा प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेकाे हाे ।

६. ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको मुद्धाकाे पेशी आजका लागि हेर्न नभ्याईने सूचीमा परेको छ । अब अदालतले यो मुद्दाको सुनुवाईको लागि अर्को मिति तोक्नेछ । आजका लागि न्यायधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियाे । उक्त मुद्धाको पालो भने ३७औँ नम्बरमा परेको थियाे ।

७. आइएमई जनरल इन्स्योरेन्सले साधारण सभा डाकेको छ । इन्स्योरेन्सले माघ ९ गते, होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

८. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन् । उनले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

९. सन् २०२३ मा विश्वको एक तिहाइ अर्थतन्त्र मन्दीमा जाने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चेतावनी दिएको छ । सन् २०२२ को तुलनामा यस वर्ष मन्दीको प्रभाव झन् ठूलो हुने देखिएको आइएमएफकी प्रमुख क्रिस्टलिना जर्जिभाले बताइन् । यस वर्ष चीन, अमेरिका र युरोपेली युनियनकोे अर्थतन्त्र थप सुस्त हुने देखिएको छ । युक्रेन युद्ध र मुद्रास्फीति कायमै रहेकाले सन् २०२३ मा पनि विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदरमा उच्च वृद्धि गर्ने आइएमएफको भनाई छ । सन् २०२३ को सुरुवातदेखि नै चीनको अर्थतन्त्र दबाबमा पर्ने र यसको असर एसियाका अन्य देशहरुमा पनि पर्ने आइएमएफले अनुमान गरेकाे छ ।

१०. सुनकाे भाउ तोलामा ९ सय रुपैयाँले बढेर प्रतिताेला  १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतिताेला १४ सय १० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको