Like us!
Follow us!
Connect us!
Watch us!

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

पत्रपत्रिका

शुक्रबार, १६ पुस २०७८, ०८ : ४२ मा प्रकाशित

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् ।

नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न छलफल अगाडि बढाउने बताइएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए । बुधवार सम्पन्न बोर्ड मिटिङले मर्जर समिति बनाएको र सोही समितिले नेपाल बंंगलादेश बैंकसँग छलफल गर्ने उनको भनाइ छ ।

‘हामीले आधिकारिक रूपमा नेपाल बंगलादेश बैंकलाई नै प्राप्ति गर्ने भनेर मर्जर समिति बनाएका होइनौं । उससँग छलफल भने भइरहेको छ,’ उनले भने, ‘अन्य १÷२ बैंकलाई पनि प्राप्तिका लागि हेरिरहेका छौं ।’

नेपाल बंंगलादेश बैंकले पनि मर्जर समिति बनाएको छ । बिहीवार भएको बोर्ड मिटिङले मर्जर समिति बनाएको बताइएको छ ।

यी दुई बैंकबीच आवश्यक सहमति भएमा संयुक्त रूपमा मर्जर समिति बन्नेछ । त्यसपछि थप प्रक्रिया अगाडि बढ्ने नबिल बैंकका सीईओ शाहको भनाइ छ ।

नेपालमा पछिल्लोपटक ग्लोबल आईएमई बैंकले क वर्गकै जनता बैंकलाई प्राप्ति गरेको थियो । अहिले क वर्गकै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक पनि एकअर्कामा मर्ज हुने प्रक्रियामा छन् । अहिले आएर नबिल र नेपाल बंगलादेश पनि बिग मर्जरको तयारीमा रहेको देखिन्छ ।

नबिल बैंकमा नेपालको चौधरी समूहको लगानी छ । नेपाल बंगलादेश बैंकमा भने बंगलादेशको आईएफआईसी बैंकको शेयर लगानी छ । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गतवर्षदेखि नै नेपाल बंंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको शेयर किन्न खोजिरहेका थिए । तर, त्यसमा विभिन्न अवरोध आइरहेको थियो । अहिले राष्ट्र बैंकले त्यो अवरोध हटाएको बताइएको छ ।

अहिले आईएफआईसी बैंक पनि नेपाल बंगलादेश बैंकको शेयर विक्री गरेर बाहिरिने तयारीमा छ । चौधरी समूहले सोही शेयर किनेर बैंक नै नबिल बैंकसँग गाभ्ने तयारी गरेका थिए ।

यसअघि पनि यी दुई बैंक मर्ज हुने विषयमा चर्चा चलेको थियो । तर, स्वाप रेसियोबारे सहमति हुन नसक्दा त्यो सफल हुन सकेको थिएन । अहिले अनौपचारिक रूपमा स्वाप रेसियाबारे केही हदसम्म सहमति भइसकेको छ । अन्तिम टुंगो भने सम्पत्ति तथा दायित्व अध्ययन (डीडीए) गरेपछि मात्र हुने बताइएको छ । दुवै बैंकले डीडीए प्रक्रिया पनि अगाडि बढाएको बताइएको छ ।

मर्जरको विषय बाहिर आएपछि बुधवार नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । बुधबार बैंकको शेयर मूल्य ९ दशमलव शून्य ८ प्रतिशतले बढेर प्रतिकिता ४०२ पुगेको थियो । नबिल बैंकको शेयर मूल्य भने प्रतिकित्ता १४५० रुपैयाँ रहेको छ ।

(याे समाचार आजकाे आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको