नबिल बैंक लिमिटेडले आज सोमबार (साउन ६ गते) देखि ७ प्रतिशत वार्षिक ब्याजदर रहने ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यमा कुल ३० लाख कित्ता, अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।
यस मध्ये, १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबर) निजी तवरबाट संस्थागत लगानीकर्तालाई बिक्री गरिनेछ भने १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिएको छ। सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
लगानीकर्ताहरूले यस ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनको लागि छिटोमा साउन ९ गतेसम्म समय दिइएको छ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड यस ऋणपत्रको बिक्री प्रबन्धकको रूपमा रहेको छ।
८ वर्ष अवधिको यो ऋणपत्रमा नबिल बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले असार १२ गते अनुमति दिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस