नबिल बैंक लिमिटेड ले ग्राहक सूचनाको गोपनीयता भंग गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै त्यस्ता दाबीलाई भ्रामक र आधारहीन प्रचार भनेको छ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत बैंकमाथि लगाइएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो प्रचारले बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर पार्ने प्रयास भएको जनाएको छ।
बैंकका अनुसार मिति २०८३ वैशाख ९ गते प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु” शीर्षकको समाचारमा अनुसन्धानरत निकायबाट प्राप्त विवरणका आधारमा बैंकिङ कारोबार सार्वजनिक गरिएको उल्लेख छ। यद्यपि, सो तथ्यलाई बेवास्ता गर्दै केही व्यक्तिहरूले बैंककै संलग्नता देखाउने गरी दुष्प्रचार गरेको बैंकको भनाइ छ।
बैंकले स्पष्ट पारेको छ कि कुनै पनि ग्राहकको बैंकिङ विवरण कानुनी प्रक्रिया बिना तेस्रो पक्षलाई उपलब्ध गराइँदैन। ग्राहक स्वयं, अधिकृत प्रतिनिधि वा नियामक तथा अनुसन्धान निकायले औपचारिक अनुरोध गरेबाहेक बैंकबाट कुनै सूचना बाहिर नजाने व्यवस्था रहेको जनाएको छ।
बैंकले आफ्नो कोर बैंकिङ प्रणालीमार्फत ग्राहकसम्बन्धी कुनै पनि विवरण कसले, कहिले र किन हेरेको हो भन्ने सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा अभिलेख रहने व्यवस्था भएको पनि स्पष्ट गरेको छ।
चार दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको संस्थाका रूपमा ग्राहकको गोपनीयता र डेटा सुरक्षा बैंकिङ नैतिकताको आधारभूत पक्ष भएको उल्लेख गर्दै बैंकले आफूहरू सधैं उच्च मापदण्ड पालना गर्दै आएको जनाएको छ।
साथै, बैंकले तथ्यहीन दुष्प्रचारमा संलग्न व्यक्ति वा संस्थामाथि आवश्यक परे विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस