Like us!
Follow us!
Connect us!
Watch us!

माग बढ्दा वितरण प्रणाली अस्तव्यस्त

पत्रपत्रिका

शुक्रबार, १६ पुस २०७८, ०८ : ४६ मा प्रकाशित

माग बढ्दा वितरण प्रणाली अस्तव्यस्त

देशभर चिसो बढेसँगै विद्युत्को माग उच्च हुँदा प्रणालीले धान्न नसकेपछि आपूर्ति प्रणाली नै प्रभावित बनेको छ ।

विद्युत् माग बढेपछि ट्रान्सफरमरको तार जल्ने, फ्युज उड्ने र कन्डक्टरहरू चुडिन थाल्ने जस्ता समस्या आएर आपूर्ति प्रणाली नै अस्तव्यस्त बन्न पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलवारदेखि मौसममा आएको खराबीका कारण चिसो बढेसँगै विद्युत्को उच्चतम माग १ हजार ६९९ मेगावाट रेकर्ड भएको छ ।

मंगलवारको तुलनामा बुधवार र बिहीवार चिसो बढ्दा विद्युत् माग बढेको छ । तर, मंगलवार बेलुका १ हजार ७०० मेगावाट हाराहारी विद्युत् माग पुग्दा नै उपत्यकासहित देशका विभिन्न ठाउँमा लाइन गएको थियो ।

बिहीवारसम्म पनि सबै ठाउँमा विद्युत् नियमित हुन नसकेको गुनासो उपभोक्ताहरूले गरेका छन् । बढेको विद्युत् माग धान्न नसक्दा झ्याप झ्याप बिजुली जाने समस्या आइरहेको छ ।

५० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना पहिचान भएको नेपालमा २ हजार मेगावाट जडितक्षमता उत्पादनमा आइसकेको छ । आगामी २÷ ३ वर्षभित्र थप ३ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुँदै छ ।

तर, विद्युत् प्राधिकरणको दशकौं पुरानो वितरण प्रणालीको भर पर्दा उत्पादन भएको सबै विद्युत् खपत गराउन नसकिने अवस्था रहेको देखिन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकालगायत बढी विद्युत् माग हुने शहरी क्षेत्रमा थप ट्रान्सफरमर राख्न नदिए जुनसुकै बेला विद्युत् प्रणालीमा असर पर्न सक्ने भन्दै चेतावनी दिँदै आएका छन् ।

मंगलवार रेकर्ड भएको पीक डिमान्ड नै अहिलेसम्मको उच्च माग हो । तर, सोही दिन रातिदेखि नै अवरुद्ध भएका वितरण लाइनहरू मर्मतपछि पनि बिग्रिन थालेपछि विद्युत्को उच्चतम माग र खपत दुवै घटेको हुन सक्ने विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

देशभर चिसो बढेका कारण विद्युत् मागमा वृद्धि भएको तर करीब १ हजार ७०० मेगावाट माग पुग्दा प्राणालीमा समस्या देखिएको भट्टराईले बताए ।

‘धेरै वितरण फिडरहरू ट्रिप भएका छन् । कन्डक्टरहरू चुडिएका छन् । फ्युजहरू जलेका छन्,’ कलंकीस्थित भारप्रेषण केन्द्रका प्रमुखसमेत रहेका भट्टराईले आर्थिक अभियानलाई भने, ‘वर्षाैं पुराना ट्रान्सफरमरहरूका तार पनि जलेका छन् ।’

मंगलवार देशभर खपत भएको विद्युत् ऊर्जा करीब ३ करोड युनिट रहेको प्राधिकरणको तथ्याङ्क छ । कुल खपत भएको विद्युत् ऊर्जा भने सर्वाधिकको रेकर्डभन्दा करीब ३० लाख युनिटले कम हो ।

करीब ३ करोड युनिट (२ करोड ९९ लाख ६५ हजार युनिट) विद्युत् ऊर्जा खपत हुँदा भारतबाट यो ७१ लाख युनिट विद्युत् ऊर्जा आयात गरिएको छ ।

विद्युत् प्राधिकरणका आयोजनाबाट ८९ लाख १ हजार युनिट, प्राधिकरणका सहायक कम्पनीबाट ४५ लाख १४ हजार युनिट, निजीक्षेत्रबाट ९४ लाख ५ हजार युनिट र भारतबाट ७१ लाख ९ हजार युनिट विद्युत् ऊर्जा आयात गरेर मंगलवारको विद्युत् माग व्यवस्थापन गरिएको प्राधिकरणले बताएको छ ।

मंगलवार विद्युत् माग उच्च भएपछि लाइन ट्रिपिङ हुँदा ३५ हजार युनिट विद्युत्को अधिक माग हुँदा हुँदै पनि आपूर्ति गर्न नसकिएको प्राधिकरणले बताएको छ ।

(याे समाचार आजकाे आर्थिक अभियानमा अमर बडुवालले लेखेका छन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको