Like us!
Follow us!
Connect us!
Watch us!

“विद्युत आपूर्ति बन्दले उद्योग र रोजगारीमा गम्भीर असर, तत्काल समाधान खोज्नुपर्छ” – मुख्यमन्त्री कार्की

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, ०९ : ०२ मा प्रकाशित

“विद्युत आपूर्ति बन्दले उद्योग र रोजगारीमा गम्भीर असर, तत्काल समाधान खोज्नुपर्छ” – मुख्यमन्त्री कार्की

नेपाल विद्युत प्राधिकरणद्वारा डेडीकेटेड र ट्रंकलाइन विवादका कारण केही उद्योगहरुको विद्युत आपूर्ति बन्द गरिएपछि कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। यस विषयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै उद्योग बन्द हुँदा प्रदेशको अर्थतन्त्रसँगै स्थानीय रोजगारीमा समेत नकारात्मक प्रभाव परेको बताएका छन्।

मुख्यमन्त्री कार्कीले प्राधिकरण र उद्योगीबीच करिब दुई दशकदेखि चल्दै आएको डेडीकेटेड फिडर तथा ट्रंकलाइनसम्बन्धी विवादको स्थायी समाधान खोज्न सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेका छन्। उनले भने, “निजी क्षेत्र नेपालको समग्र अर्थतन्त्रको मेरुदण्ड हो। लामो समयदेखि जारी विवादका कारण उत्पादनशील उद्योग ठप्प हुँदा यसको असर केवल आर्थिक क्षेत्रमा मात्र होइन, सामाजिक र रोजगारी क्षेत्रमा पनि गहिरो रूपमा परेको छ।”

मुख्यमन्त्रीको विज्ञप्तिमा भनिएको छ कि विद्युत महसुल बक्यौता विवादका कारण उद्योगहरुको लाइन काटिँदा रोजगारी गुम्ने र लगानीकर्ता निरुत्साहित हुने परिस्थिति सिर्जना भएको छ। उनले यसलाई अस्वाभाविक अवस्था ठहर गर्दै समस्या समाधानका लागि वार्ता र संवादमार्फत् निकास निकाल्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

“राज्य र निजी क्षेत्रबीच यति लामो समयदेखि असमझदारी रहनु दुःखद विषय हो,” विज्ञप्तिमा भनिएको छ, “एउटा उद्योगको विद्युत आपूर्ति बन्द गर्दा पर्न सक्ने बहुआयामिक असरलाई मध्यनजर गर्दै तत्काल समाधानको पहल गर्नुपर्छ।”

मुख्यमन्त्री कार्कीले नेपाल सरकारलाई उद्योगीहरूसँग तत्काल वार्ता गरी सहज वातावरणमा उद्योग संचालन गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन्। उनले डेडीकेटेड र ट्रंकलाइन विवादका कारण उद्योग ठप्प हुँदा उत्पन्न भइरहेको संकटले केवल कोशी प्रदेशमा मात्र नभई मुलुकको समग्र आर्थिक सन्तुलनमा असर पारिरहेको चेतावनी पनि दिएका छन्।

विज्ञप्तिमा उनले विगत भदौ २३ र २४ गतेका उथलपुथल घटनापछि निजी उद्योग, सुपर मार्केट, कलकारखाना र सञ्चार क्षेत्रमा भएको आगजनी र तोडफोडका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरु निरुत्साहित भएको स्मरण गर्दै, अहिलेको विद्युत विवादले त्यो चुनौतीलाई अझ गहिरो बनाएको उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले थपे, “राज्यले निजी क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ। सरकार र राज्यप्रति निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न आवश्यक वातावरण बनाइए मात्र खस्कँदो अर्थतन्त्र लयमा फर्काउन सकिन्छ।”

विज्ञप्तिको अन्त्यमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार नेपाल सरकार र निजी क्षेत्रबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको