Like us!
Follow us!
Connect us!
Watch us!

कोभिडविरुद्धको खोप : सरकार र ओलीमध्ये कसले झुट बोले ?

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १३ : १५ मा प्रकाशित

कोभिडविरुद्धको खोप : सरकार र ओलीमध्ये कसले झुट बोले ?

एमाले अध्यक्ष केपी ओलीले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल असफल भएको आरोप लगाएका छन् । आइतबार १५ बुँदे विज्ञप्तिमार्फत ओलीले शेरबहादुर देउवा सरकारमाथि हमला बोलेका हुन् ।

ओलीले निकालेको विज्ञप्तिको १० नम्बर बुँदामा लेखिएको छ, ‘वर्तमान सरकारले पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो संख्या ४० प्रतिशत मात्र पुगेको छ ।’

तर, स्वास्थ्य मन्त्रालयको दैनिक बुलेटिनमा ओलीले लगाएको आरोपभन्दा ठीक उल्टो छ । सरकारले ८१ प्रतिशत नागरिक कोभिडविरुद्धको पहिलो खोप लगाइसकेको र पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ दशमलव ६ प्रतिशत रहेको जनाएको छ । तर, एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा ४० प्रतिशत मात्र रहेको दाबी गरिएको छ ।

यस्तोमा सरकार र ओलीमध्ये एकले पक्कै सफेद झुट बोलेको प्रस्ट हुन्छ । वर्तमान सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने घोषणा गरेको छ । जसअनुसार एक मात्रा लगाउनेको संख्या एक करोड ६२ लाख ४२ हजार पुगेको छ । पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड २८ लाख ७० हजार र अतिरिक्त (बुस्टर डोज) लगाउनेको संख्या एक लाख ४२ हजार पुगेको जनाएको छ ।

तीन दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दा ६३ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएको उल्लेख गरेका थिए । सरकारको पुस मसान्तसम्मको टार्गेट ७५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाउने थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको