Like us!
Follow us!
Connect us!
Watch us!

कानुनी व्यवस्थाबारे थाहा नहुँदा अझै रोकिएन बालविवाह

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, १७ : ०० मा प्रकाशित

कानुनी व्यवस्थाबारे थाहा नहुँदा अझै रोकिएन बालविवाह

नेपालको कानुनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ।

केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो विवाह कानुनी रूपमा स्वतःबदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा विवाह गराई दिनेक्रम बढेको हो। 

बालविवाह हुनेक्रम बढेपछि धनुषा प्रहरीले बालविवाह रोक्न विशेष अभियान नै चलाएको छ। अभियानअन्तर्गत विगत डेढ महिनाको अवधिमा धनुषामा नौ वटा बालविवाह रोकाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

कोही जानीजानी वा कोही नजानी छोराछोरीको विवाह गराउने प्रवृत्ति ह्वातै बढेपछि बालविवाह रोक्नका लागि अभियान नै चलाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

अभिभावकलाई बालविवाह कानुनी रूपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुनेबारेमा जनचेतनामूलक कार्यक्रमसँगै बालविवाह रोक्ने अभियान चलाउँदै आएको उनको भनाइ छ।  

‘सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँ-गाउँमा बालविवाहबारे अन्तर्क्रियासँगै बालविवाह भइरहेको सूचना पाए तत्कालै रोकाउने गरेका छौं’, प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘यसबाट विगतको भन्दा बालविवाहमा कमी आउने विश्वास लिएका छौं।’

गत माघ महिनायता जिल्लाभरि नौ वटा बालविवाह रोकाइएको उनले बताए।

‘बालविवाह हुँदैछ भन्ने जानकारी पाएपछि हामी त्यहाँ पुग्छौं’, उनले भने, ‘वास्तवमै उमेर नपुगेर विवाह भइरहेको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाज लगायतका व्यक्तिको समन्वयमा बालविवाह रोकाइरहेका छौं।’ 

प्रहरीले बालविवाह रोकाउँदा कतिपय अभिभावकले त्यसलाई सहज रूपमै लिने गरिए पनि अधिकांशले निराशा र चिन्ता नै व्यक्त गर्ने गरेका छन्।

‘केटी पक्षले राम्रो केटा र घर हेरे विवाह तय गर्ने गरेका छन्’, धनुषाको विदेह नगरपालिका-६ निवासी विजय मण्डलले भने, ‘विवाह कुरा गरिरहँदा केटा र केटीको उमेरको कुरै चल्दैन, यसबारे छलफल भए पनि उमेरलाई खासै वास्ता गरिँदैन।’

‘कानुनी व्यवस्थाबारे धेरैलाई थाहै हुँदैन, कतिपयलाई थाहा भए पनि वास्ता गर्दैन’, उनको भनाइ छ।  

कानुनी कुराको ज्ञान नभएकाले ठूलो रकम खर्चिएर विवाहको तयारी गर्ने अन्तिममा जन्ती आउने बेलामा विवाह रोकिइदिएपछि अभिभावक अप्ठ्यारोमा पर्ने गरेका छन्।

आफूहरूलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएकाले सानै उमेरमा छोरीको विवाह गराउन लागेको बालविवाह रोकिएका अधिकांश अभिभावकको भनाइ छ। 

कतिपय अभिभावकमा बालविवाह कानुनी अपराध हो, बालविवाह गरिए कानुनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने कुराको ज्ञान नभएकाले छोराछोरीको उमेर नपुग्नै विवाह गराइरहेका छन् भने कतिपयले कानुनी कुरा बुझेर पनि दाइजोको लोभ, राम्रो केटा र घर पाएपछि विवाह गरिहालौं भन्ने गलत सोचका कारण बालविवाह गराइरहेको बुद्धिजीवीको भनाइ छ।

‘नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको भए पनि अझै बालविवाह हुँदै आएको छ’, बुद्धिजीवी तथा दलित अगुवा सिजेन्द्र सदाले भने, ‘उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति मौलाएको छ।’ 

‘हामीले पछिल्लो केही वर्षदेखि गाउँ-गाउँ, विद्यालयमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कूप्रभावका विषयमा अभिभावक र बालबालिकाबीच सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छौं’, दलित अगुवा सदाले भने, ‘बालविवाह न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिए पनि यसको अन्त्य भएको छैन।’ 

समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको उनको भनाइ छ। बालविवाह कानुनी अपराध हो। विद्यालयमा पनि बालविवाहविरूद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रम हुन्छन् तर रोक्न सकिएको छैन।

मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नू/गराउनू हुँदैन, गराएमा त्यस्तो विवाह स्वतःबदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको अधिवक्ता डोमन साहले जानकारी दिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको