Like us!
Follow us!
Connect us!
Watch us!

बिग मर्जर : कति सफल कति असफल, किन बाहिरिँदै छन् बैंकका विदेशी लगानीकर्ता ?

कृष्ण प्रधान

पत्रपत्रिका

बुधबार, २५ फागुन २०७८, ०६ : ४१ मा प्रकाशित

बिग मर्जर : कति सफल कति असफल, किन बाहिरिँदै छन् बैंकका विदेशी लगानीकर्ता ?

नेपालको वित्तीय क्षेत्रमा सर्वाधिक चर्चामा रहेको हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंकको बिग मर्जरको प्रयास हालै तुहिएको छ । अर्थात् ती दुवै बैंक एक भएर नेपाली बैंकहरूमा सर्वाधिक ठूलो (बलियो ?) बैंक बन्ने विगत केही वर्षको मर्जर प्रयासले अन्ततः सफलता भने हात पार्न सकेन । त्यसको मूल कारण खोज्दै जाँदा के देखियो भने ती दुवै बैंकको मर्जरको अभीष्ट बैंक बलियो र ठूलो बनाउनेभन्दा पनि बैंकभित्र कसले बढी हालीमुहाली गर्नेमै अड्किएको देखियो । यो कुराको संकेत सार्वजनिक रूपमै बाहिरियो पनि । त्यसलाई जसले जसरी बुझे पनि आखिर केही संस्थापकहरूको स्वार्थ र परस्परको खिचातानीकै कारण बिग मर्जरको एउटा सपना तुहिएको अर्थमा यसलाई लिन सकिन्छ ।

विगतदेखि नै परोक्षरूपमा बिग वा मेगा मर्जरको आवश्यकता औंल्याउँदै आएको केन्द्रीय बैंकका लागि यो पक्कै पनि खुशीको सन्देश होइन । यसले बजारमा अर्को के सन्देश दिएको छ भने भन्दैमा वा रहरले बिग मर्जर सजिलो छैन, हुँदैन । यसैगरी स्वाभाविक, स्वैच्छिक र प्रणालीगत आवश्यकता नभएसम्म बिग मर्जर उति सजिलो हुँदैन भन्ने कुरा पनि यसबाट सिक्नुपर्ने हुन्छ । मूल विषय संस्थापकहरूबीच स्वार्थ बाझिँदासम्म यस खाले मर्जर सफल हुन सक्दैनन् । खासगरेर सञ्चालक र अध्यक्ष को को हुने ? भन्नेमै तिनका स्वार्थ बाझिएका पाइन्छन्, स्वाप अनुपातमा होइन ।

विगतमा किष्ट बैंकमा देखिएको प्रणालीगत समस्याका कारण उक्त बैंकलाई कसरी बचाउने र त्यसबाट निक्षेपकर्ताको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताको मूल विषय थियो । त्यसैगरी प्राप्ति गरेपछि अहिले तिनका समस्या जे जस्तो र जहाँ भए पनि प्राप्ति गर्ने बैंकमा विलयन भइसकेकाले आम निक्षेपकर्तामा ती समस्याको उजागरप्रति हाल खासै सरोकार भएको देखिँदैन । अहिले प्रभु बैंक नाफामै देखिएको छ । ग्लोबल आईएमई बैंकलाई हेर्दा बाहिर जति ठूलो आकारको देखिए पनि उक्त बैंकमा धेरै समस्याग्रस्त वित्त कम्पनी र विकास बैंकहरू गाभिएका हुन् । त्यसरी गाभिने अभ्यास राम्रै हो । त्यो मर्जरभन्दा पनि प्राप्ति र विलयन हो । अहिले उक्त बैंक धेरै नाफा कमाउने बैंकमै पर्छ । त्यो प्रयास मर्जरभन्दा पनि प्राप्ति र विलयन हो ।

विगतका धेरै विकास बैंक र वित्त कम्पनी वाणिज्य बैंकमा गाभिएपश्चात् अहिले तिनका संख्यामा उल्लेख्य कटौती भएको पनि छ । वित्त कम्पनी, विकास बैंक र वाणिज्य बैंकका कारोबारमा वस्तुगत अन्तर खासै नभएको हुँदा कालान्तरमा ती वाणिज्य बैंक हुने सम्भावना नै बढी देखिएकै छ । हुन पनि हालका चार वर्गका वित्तीय संस्थाको कारोबार प्रकृति हेर्दा नेपालमा मूलतः वाणिज्य बैंक र लघुवित्त बैंकहरूको मात्र आवश्यकता देखिएको छ भने कुनै विशेष प्रकृतिका लागि आवश्यक पर्ने दीर्घकालीन वित्तीय सहयोग उपलब्ध गर्ने खालका वित्तीय संस्थाहरू (जस्तै: कृषि, जलविद्युत् आदि) को खाँचो देखिन्छ ।

वास्तवमा, हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक दुवैलाई मर्जरको आवश्यकता थिएन । ती दुवै आआफ्नै ढंगले पनि ठूलै बैंक हुने स्थितिमा नभएका भने होइनन् । तिनमा समस्या भएजस्तो लागेन । हो, हबिब बैंकले हिमालयन बैंकबाट आफ्नो लगानी फिर्ता लैजाने भएपछि त्यहाँ केही आन्तरिक समस्या आएको होला । त्यसरी विदेशी लगानी नेपालबाट फिर्ता जानुले राम्रो सन्देश त दिँदैन तथापि लगानीकर्तालाई एक्जिटको बाटो नदिँदा भोलि थप वैदेशिक लगानी नआउने सन्देश पनि स्वतः जाने हुन्छ । यो उसको कुरा भयो । तर, हबिब बैंक र विगतमा फ्रान्सको एग्रोकोल किन नेपालमा रहन चाहेन ? भन्ने कुराको खोजी अर्को पाटो हो ।

सम्भवतः यो केन्द्रीय बैंकको चासोको विषय हुनुपर्ने हो । यसैगरी बंगलादेश बैंकबाट पनि बंगलादेशका लगानीकर्ता आईसीएफसी समूहले लगानी फिर्ता लाने भएपछि उक्त बैंकलाई नबिल बैंकले प्राप्ति गर्ने विषय बाहिर आएको छ । यही कुरा बाहिरिएपछि त्यसलाई नेपालकै अर्को व्यापारिक घरानाहरूले अदालतमा चुनौती पनि दिएका छन् । यस कुराले कताकति मर्जरमा भित्रभित्रै अनेक खाले खेलहरू पनि हुन्छन् कि भन्नेतर्फ अब केन्द्रीय बैंकले चासो राख्नुपर्ने हो कि ? नेपालबाट यसरी एकपछि अर्को विदेशी बैंकहरू बाहिरिनुले पक्कै पनि राम्रो सन्देश दिएको छैन । एभरेष्ट बैंकबाट पन्जाब नेशनल बैंक पनि बाहिरिने भएको छ । विगतमा एग्रोकोलको इन्भेष्टमेण्ट बैंकमा सहभागिता थियो ।

कसैको रहरले गरिने बिग वा मेगा मर्जरले कालान्तरमा समस्या नै उब्जाउने हुँदा अहिले बैंक वित्तीय संस्थाहरूको संख्याको चिन्ता हो भने प्राप्तिको अभ्यास नेपालको वित्तीय क्षेत्रमा सफल भएकाले त्यतापट्टि प्रयासरत रहनु उचित हुन्छ । हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंकको असफल बिग मर्जर प्रकरणले केन्द्रीय बैंकलाई समेत नीतिगत तहमा पक्कै दबाबहरू सृजना भएको हुनुपर्छ ।

अहिले पुनः ती बैंक केन्द्रीय बैंकबाट हुन सक्ने सम्भावित कारबाहीहरूबाट बच्न अन्य वित्तीय संस्थासित मर्जरमा प्रयासरत छन् भन्ने चर्चा पनि आउन थालेको हुँदा कतै त्यसखाले अभ्यासले नेपालको वित्तीय क्षेत्रलाई बिग मर्जरले वित्तीय रूपले बलियो बनाउनेभन्दा पनि आफ्नो स्वार्थसिद्धिको औजार मात्र त बन्न जाने होइन भन्ने एक खाले जोखिम पनि साथै उब्जाएको छ । यसतर्फ अब केन्द्रीय बैंक नै चनाखो हुनुपर्ने समय आएको छ । बिग मर्जरले प्रणालीको कमजोरी सच्याउने हो, कुनै स्वार्थ समूहको उजागर र उन्नयन होइन ।

आर्थिक अभियान दैनिकमा प्रकासित लेख । लेखक प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको