Like us!
Follow us!
Connect us!
Watch us!

रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा

पत्रपत्रिका

बुधबार, ०९ चैत्र २०७८, ०६ : ११ मा प्रकाशित

रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा

युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसक्नु भएको छ ।

त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रुस र युक्रेनको सैन्य भिडन्तले अरू बढाएको छ । त्यसै आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर समग्र क्षेत्रमा परेको छ ।

व्यापारीहरू भने यी दुईभन्दा बेग्लै अरू कारणले पनि मूल्य बढाउने गरेको दाबी गर्छन् । बैङ्कहरूले बढाएको ब्याजदर र निर्वाचन घोषणा भएपछिका राजनीतिक र अन्य कारणले पनि मूल्य बढाएको दाबी उनीहरूको छ । यस आधारमा नेपाली उपभोक्ता सर्वसाधारण मूल्य वृद्धिको पञ्चाग्निमा सेकिएका छन् ।

रुस–युक्रेन युद्धले पेट्रोलियम पदार्थ मात्र नभई खाने तेलमा समेत प्रत्यक्ष असर पारेको हो । खाने तेल र कच्चा पदार्थ रुस र युक्रेनबाट आउनेमा त्यो बन्द भएको छ तर त्यो मात्र नभई दाल, चामल, चिनी, तरकारी, फलफूललगायत सबैजसो वस्तुको मूल्य दिनदिनै उकालो लागिरहेको छ । स्थानीय तह निर्वाचनका कारण मूल्य वृद्धिको असर अब देखिने व्यापारीको भनाइ छ ।

नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्य भने यसमा व्यापारीको दोष देख्छन् । उनले भने, “ठूला व्यापारीलाई मूल्य बढाउन के निहुँ पाऊँ भएकाले ठूला व्यापारीलाई गतिलो अवसर मिल्यो । उनीहरूको अनुगमन हुँदैन खुद्रा पसलमा सरकारी निकाय आउँछन् ।”

सङ्घका अनुसार २०७६ फागुनमा कोरोना आएयता बढ्न थालेको खाद्यवस्तुको मूल्य वृद्धि अहिलेसम्म जारी छ । २०७७ फागुनसम्म आइपुग्दा विश्वको आपूर्ति प्रणाली नै ध्वस्त पार्ने गरी कोरोना महामारी विश्वव्यापी रूपमा फैलिँदा त्यसको अन्तर्राष्ट्रिय प्रभाव नेपालमा पनि परेको हो ।

सङ्घले २०७६ फागुनमा प्रतिलिटर २७० रुपियाँमा पाइने भुटेको तोरीको तेल मूल्य २०७८ फागुनमा प्रतिलिटरमा १३० रुपियाँ बढेर चार सय रुपियाँ पुगेको जनाएको छ । यस्तै, सो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १७० बाट बढेर ३८५, भटमास तेल प्रतिलिटर १६० बाट बढेर २७०, सूर्यमुखी प्रतिलिटर १६० बाट २९० रुपियाँ पुगेको छ । नेपाली घ्यू प्रतिलिटर ८५० बाट बढेर एक हजार दुई सय रुपियाँ पुगेको छ । तीन वर्षको मूल्य हेर्दा प्रतिलिटर घ्यूमा ३५० रुपियाँ बढेको छ ।

त्यस्तै, २०७६ फागुनमा प्रतिकेजी ७० रुपियाँ खुद्रा मूल्यमा पाइने ताइचिन चिउरा १३० रुपियाँ र प्रतिकेजी ८० रुपियाँमा पाइने चिनी प्रतिकेजी सय रुपियाँ पुगेको छ । यीबाहेक, चामल, मासको दाल, जिराको पाउडरलगायत धेरैजसो वस्तुको मूल्य निरन्तर बढिरहेको छ ।  सङ्घले २०२२ जनवरीमा कच्चा भटमास प्रतिमेट्रिक टन एक हजार ४५० डलर रहेकोमा मार्चमा एक हजार ८६८ डलर, कच्चा सूर्यमुखी एक हजार ४६० डलरबाट दुई हजार १२५ डलर पुगेको जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको